News Desk
ललितपुर | वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जावलाखेलमा आयोजित ऐतिहासिक तथा सांस्कृतिक समारोह अवलोकन गर्नुभएको छ।
आइतबार अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले भोटो जात्राको प्रत्यक्ष अवलोकन गर्नुका साथै जीवित देवी कुमारीको दर्शन समेत गर्नुभएको थियो। परम्पराअनुसार, मच्छिन्द्रनाथको रथ जावलाखेल आइपुगेको चौथो दिन भोटो देखाउने परम्परा रहँदै आएको छ।

गुठी संस्थान ललितपुरका कर्मचारीद्वारा सार्वजनिक रूपमा भोटो देखाइएको यो जात्रा हिन्दू तथा बौद्ध समुदायका लागि अत्यन्त श्रद्धा र आस्थाको प्रतीक मानिन्छ।
उक्त भव्य कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरू, विभिन्न मन्त्रालयका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा हजारौं सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
रथयात्रा गत वैशाख ११ गते सुरु भएको थियो र भोटो देखाइएपछि यस वर्षको मच्छिन्द्रनाथ जात्रा विधिवत् रूपमा सम्पन्न भएको छ।
रातो मच्छिन्द्रनाथलाई अन्न उत्पादनको स्रोत, वर्षा ल्याउने शक्तिका रुपमा तथा प्राकृतिक विपत्तिहरू टार्ने संरक्षक देवता मानिन्छ। त्यसैले यो जात्राले ललितपुरवासीहरूमा मात्रै नभएर सम्पूर्ण नेपाली समाजमा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको छ।
