News Desk
काठमाडौं, जेठ १९ | आज २०५८ सालको जेठ १९ गते घटित नारायणहिटी हत्याकाण्डको २४औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाली जनमानसमा गहिरो आघात पुर्याएको उक्त दिन राजा वीरेन्द्र शाहसहित उनका अधिकांश परिवारजन मारिएका थिए।
२०५८ सालको जेठ १९ गते, शुक्रबार साँझ, नारायणहिटी दरबारमा आयोजित पारिवारिक भोजका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, तथा उनका काका धिरेन्द्र शाहलगायत राजपरिवारका सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको गोली प्रहारबाट मृत्यु भएको थियो।
घटनास्थलमा अर्धमूर्छित अवस्थामा भेटिएका युवराज दीपेन्द्रलाई भोलिपल्टै राजा घोषणा गरियो। तर उपचारको क्रममा जेठ २२ गते उनको पनि निधन भएपछि ज्ञानेन्द्र शाहलाई राजा बनाइयो।
सत्य के हो भनेर पत्ता लगाउन तत्कालीन सरकारद्वारा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरियो। समितिको प्रतिवेदनमा युवराज दीपेन्द्रले पारिवारिक विवादका कारण सबैको हत्या गरेर आत्महत्या गरेको उल्लेख गरिए पनि, आम नागरिकले उक्त निष्कर्षलाई सधैं शंका नजरले हेर्दै आएका छन।
वीरेन्द्र शाहले आफ्नो शासनकालमा उदार र प्रजाप्रेमी राजाको छवि बनाएका थिए। तर, उक्त हत्याकाण्डपछि नेपाली राजतन्त्रको जग हल्लियो। उनका भाइ ज्ञानेन्द्र शाहले सिंहासन सम्हाले पनि जनतामाझ राजतन्त्रको लोकप्रियता घट्दै गयो।
२०६२/६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार कटौती गर्दै २०६५ सालमा गणतन्त्र घोषणा गर्यो। त्यसै वर्ष जेठ २९ गते, तत्कालीन राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छोडेर नागार्जुनस्थित निजी निवासमा सरे।
पूर्वराजा बसेको नारायणहिटी दरबारलाई त्यसयता राष्ट्रिय संग्रहालयका रूपमा परिणत गरिएको छ। २०६५ फागुन १५ गतेदेखि संग्रहालय सर्वसाधारणका लागि खोलिएको हो। अहिले हत्याकाण्ड भएको स्थान त्रिभुवन सदनको बिलियार्ड हलसहितका संरचना पुनर्निर्माण गरी आमनागरिकका लागि खुला गरिएको छ।
आजको दिनले फेरि स्मरण गराउँछ , त्यो रात केवल एक शाही परिवारको अन्त्य नभई, एक युगको समापन पनि थियो। तर, हत्याकाण्डबारे सत्यतथ्य अझैसम्म जनताका लागि अनुत्तरित छ।