देश छोडेर भाग्ने विषयमा भइरहेको प्रचारप्रति राधिका शाक्य​को कडा टिप्पणी
News Desk
Jun-02 , 2025 तारिख 12:20 बेलुका

भक्तपुर, जेठ १८ — प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले देश छोडेर भाग्ने विषयमा भइरहेको प्रचारप्रति कडा टिप्पणी गर्दै आफूहरू अन्तिम साससम्म देश र जनताको लागि समर्पित रहने बताउनुभएको छ।

मध्यपुरथिमिमा आयोजित ‘जेसुम यात्रा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै शाक्यले हालै केही राजावादी व्यक्तिहरूले प्रधानमन्त्री ओलीले हेलिकोप्टरमार्फत भाग्ने तयारी गरिरहेको आरोप लगाएको विषयलाई खण्डन गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले जीवनको सम्पूर्ण शक्ति देशका लागि लगायौं। हामी भाग्दैनौं, कतै जाँदैनौं। एक थोपा रगत रहुन्जेल यो देशका लागि लडिरहन्छौं।”

शाक्यले आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घेरिने घोषणा गर्नेहरूप्रति प्रश्न गर्दै भन्नुभयो, “हामी तिनीहरूलाई चिन्छौं, जनताले पनि चिनेका छन। अनुमति पाए म त उनीहरूसँग नै उभिएर धेरै कुरा सोध्न चाहन्छु।”

उहाँले लोकतन्त्र स्थापना पश्चात नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारजस्ता क्षेत्रमा उल्लेखनीय सुधार भएको भन्दै आलोचना गर्नु अघि देश घुमेर बुझ्न र अध्ययन गर्न आग्रह गर्नुभयो। “केही भएन भन्नु अज्ञानताको भाषा हो,” उहाँले स्पष्ट पार्नुभयो।

राधिका शाक्यले अझै पनि समय बाँकी भएकाले सबैलाई नकारात्मक आन्दोलन छाडेर आ–आफ्नो स्थानबाट राष्ट्र निर्माणमा लाग्न पनि आह्वान गर्नुभयो।

कार्यक्रममा भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशिजंग थापाले आफ्नो परिवारतर्फबाट श्रीमद्भागवत गीता प्रथम महिला शाक्यलाई हस्तान्तरण गर्नुभयो भने नम्रता थापाले राधिका शाक्यद्वारा लिखित पुस्तक करुणा को समीक्षा प्रस्तुत गर्नुभयो।

समृद्ध मध्यपुर समाज नेपालद्वारा प्रकाशित ‘मध्यपुरथिमिमा जेसुम’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक तथा बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा र नेपालकी प्रथम महिला राधिका शाक्यलगायत साहित्य, कला तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

जेसुम (जुनि साहित्य यात्रा) द्वारा गत जेठ १ गते शंखधर चोकदेखि कुमारी मन्दिरसम्म आयोजना गरिएको ऐतिहासिक सम्पदा अवलोकन भ्रमणका क्रममा सिर्जित कविता, चित्र र संस्मरणहरूलाई समेटेर पुस्तक प्रकाशित गरिएको हो।

पुस्तकमा प्रधानमन्त्री ओलीको कविता पनि समावेश गरिएको छ, जुन उनले जेसुम यात्राका लागि लेखेका थिए। साथै बालकृष्ण बस्नेत, स्नेह सायमी, फूलमान वल, शशि लुमुम्बु, अनन्त वाग्ले, रजनी मिला लगायत दुई दर्जनभन्दा बढी लेखकका रचना संग्रहित छन। पुस्तकमा चित्रकारहरूद्वारा यात्राका क्रममा सिर्जित क्यानभास चित्रहरू पनि प्रकाशित छन।

यसै कार्यक्रममा लेखकहरूले आफ्ना कविता वाचन गरी वातावरणलाई साहित्यिक रसले भरिपूर्ण बनाएका थिए। जेसुम यात्रा विगत सात वर्षदेखि साहित्यमार्फत सामाजिक रूपान्तरणको सन्देश फैलाउने अभियानका रूपमा परिचित हुँदै आएको छ।