'म झोले हो’ अभियान चलिरहेका बेला पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको फरक मत
News Desk
Jun-03 , 2025 तारिख 06:12 बिहान

काठमाडौं, १९ जेठ |सत्तारूढ नेकपा (एमाले) भित्र अहिले ‘म झोले हो’ अभियानले सामाजिक सञ्जाल तातेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीजस्ता शीर्ष नेताहरूले समेत आफूलाई उक्त नारासहित प्रस्तुत गरिरहेका छन्।

तर, पार्टीका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने यस अभियानप्रति छुट्टै धारणा सार्वजनिक गरेका छन्। अन्य नेताहरूले सामाजिक सञ्जालमा 'म झोले हो' भन्ने पोस्टरसहितका तस्बिर पोस्ट गरिरहेका बेला बाँस्कोटाले यस्ता प्रदर्शन आवश्यक नरहेको संकेत दिएका छन्।

आफ्नो एक्स (पूर्व ट्विटर) खातामा बाँस्कोटाले लेखेका छन्, “ज्यामितिमा केही कुरा स्वयंसिद्ध हुन्छन्, जुन प्रमाणित गर्न आवश्यक पर्दैन। जस्तै, दुई विन्दुलाई मात्र एक सरल रेखाबाट जोड्न सकिन्छ, वा त्रिभुजका आन्तरिक कोणहरूको योगफल १८० डिग्री हुन्छ। राजनीति पनि त्यस्तै हो-म एमाले कार्यकर्ता हुँ भन्ने कुरा स्वयंसिद्ध हो। यो केवल मेरो आस्थामात्र नभई, समाज परिवर्तन गर्ने क्रान्तिकारी सिद्धान्तमाथिको विश्वास हो।”

उनको यो भनाइलाई केहीले पार्टीभित्रको स्वाभाविक वैचारिक विविधता र अभिव्यक्तिको स्वतन्त्रताको रूपमा लिएका छन् भने केहीले प्रचारमुखी अभियानको वैकल्पिक दृष्टिकोणका रूपमा पनि हेरेका छन्।

एमालेभित्रको यो ‘म झोले हो’ अभियान पार्टीप्रति निष्ठा देखाउने अभियानको रूपमा हेरिएको छ। बाँस्कोटाको विचारले भने अभियानको भिन्न शैली र कार्यकर्ताको स्वतन्त्र पहिचानबारे बहसको सुरुवात गराएको छ।

धेरै पढिएको