बिना गाइड साहसी पार्वती जोशीको सगरमाथाको सफल आरोहण
News Desk
Jun-04 , 2025 तारिख 08:59 बेलुका

काठमाडौं | रसुवाकी साहसी छोरी पार्वती जोशीले गत मे १९ तारिख बिहान ९ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको बिना गाइड सफल आरोहण गरेकी छन्। पर्वतारोहण क्षेत्रमै पथप्रदर्शक र माउन्टेन लिडरका रूपमा कार्यरत पार्वतीले बहुप्रतीक्षित सपनालाई साकार पार्दै आफ्नो नाम सगरमाथा आरोहीको सूचीमा लेखाउन सफल भएकी हुन्।

‘सगरमाथा चढ्ने मेरो जीवनको ठूलो सपना थियो। आज त्यो पूरा भएको छ। आफूलाई सगरमाथा आरोही भन्न पाउनु गौरवको कुरा हो,’ आरोहणपछि पार्वतीले भावुक स्वरमा भनिन्।

अप्रिल २० मा काठमाडौंबाट सुरु भएको पार्वतीको यो यात्राले करिब एक महिनासम्मको तयारी, अभ्यास, संघर्ष र अपार धैर्यको माग गरेको थियो। मे १९ मा अन्ततः उनले सगरमाथाको चुचुरोमा पाइला टेक्दै आफ्नो साहसिक यात्रालाई ऐतिहासिक उपलब्धिमा बदलिन्।

सगरमाथाको सफल आरोहणले आफूलाई अझ ऊर्जा, आत्मबल र प्रेरणा दिएको बताउँदै पार्वतीले भविष्यमा पनि पर्वतीय पर्यटनमै निरन्तर सक्रिय रहने र आफ्नै जस्तै सपना बोकेका महिलालाई मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

रसुवाको एक सानो गाउँमा जन्मेकी पार्वती बाल्यकालदेखि नै साहसिक स्वभावकी थिइन्। पहाड चढ्ने, भलिबल खेल्ने जस्ता गतिविधिमा विशेष रुचि राख्ने पार्वतीले आफ्ना पुरुष साथीसँगै विभिन्न शारीरिक खेलकुदमा सहभागिता जनाउँदै हुर्केकी थिइन्।

पर्वतीय पर्यटनमा उनको यात्रा सन् २०११ मा पहिलो पटक ट्रेकिङमार्फत सुरु भएको थियो। तीन वर्षपछि, सन् २०१४ मा उनले औपचारिक रूपमा पथप्रदर्शकको लाइसेन्स प्राप्त गर्दै व्यावसायिक क्षेत्रमा पाइला टेकेकी थिइन्। त्यही समयमा उनले सगरमाथा चढ्ने सपना देखेकी थिइन् — जुन आज आएर उनले साकार पारेकी छन्।

पार्वतीको यो उपलब्धिले नेपाली महिलाहरूको साहस, संघर्षशीलता र क्षमताको सशक्त प्रतिनिधित्व गर्दछ। पर्वतारोहणजस्तो चुनौतीपूर्ण र जोखिमपूर्ण क्षेत्र महिलाहरूको सहभागिताले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा र सकारात्मक सन्देश दिएको छ।

उनको साहसी उपलब्धिले पहाडी क्षेत्रका किशोरीहरूलाई पनि नयाँ सपना देख्न र आफ्नो क्षमतामा विश्वास राख्न प्रेरणा दिने अपेक्षा गरिएको छ। पार्वतीले पुरुषप्रधान क्षेत्र मानिने पर्वतारोहणमा साहसपूर्वक पाइला चालेकी मात्र होइन, अब आफूजस्तै अन्य दिदीबहिनीलाई पनि हिमाल चढ्न हौसला दिने स्पष्ट घोषणा गरेकी छन्।

उनीजस्ता महिलाको सक्रियता र सफलताले हिमाली पर्यटनको भावी यात्रालाई अझ समावेशी, सशक्त र प्रेरणादायी बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ।