News Desk
काठमाडौं, जेठ २४ | कुनै समय ‘ईमानदार कर्मचारी’ को प्रतीक मानिएका पूर्वजिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालमाथि अहिले भ्रष्टाचारको गम्भीर आरोप लागेको छ। सन २०१४ मा अकाउन्टेबिलिटी ल्याब नामक संस्थाले नेपाललाई “ईण्ट्रिग्रेटेड आईडल” घोषणा गरेपछि उनी सामाजिक र प्रशासनिक क्षेत्रमा ईमानदारीको प्रतिकका रूपमा चिनिए। तर अब विशेष अदालतमा उनीविरुद्ध २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नेपालसहित नौ जनाविरुद्ध खोटाङको दिप्रुङ चुइचुप्पा–७ स्थित कृष्ण माविको चारकोठे भवन निर्माणमा अनियमितता गरेको आरोप लगाउँदै मुद्दा चलाएको हो। शिक्षा क्षेत्रमै रहेर उनीमाथि भ्रष्टाचार आरोप लाग्नुले ईण्ट्रिग्रेटेड आईडल उपाधामै प्रश्न उठाएको छ।
आरोप के छ?
नेपालले शिक्षा अधिकृत रहँदा उक्त विद्यालयको भवन निर्माणमा गुणस्तरहीन कामलाई सुधार नगरी झुटा बिल–भर्पाई तयार पारेर रकम निकासा गरेको अख्तियारको दाबी छ। सम्झौताअनुसार जिल्ला शिक्षा कार्यालयले २४ लाख, र जनसहभागिताबाट थप २१ लाख १० हजार ८९२ गरी कुल ४५ लाख १० हजार ८९२ रुपैयाँको निर्माण कार्यको योजना बनाइएको थियो।
तर फिल्ड अनुगमनमा देखिएको विवरण अनुसार—
भवनमा प्लास्टर फोरेटो,
भुइँको पीपीसी चिरिएको,
सिलिङमा रड खुलेको देखिएको,
ढलानसमेत कमजोर गुणस्तरको,
प्रयोग गर्न नमिल्ने अवस्था देखिएको छ।
अन्य प्रतिवादीहरू
अख्तियारले नेपाललाई प्रमुख प्रतिवादी बनाएर इन्जिनियर वृधन यादव, सब–इन्जिनियर शिवराज राई, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राई, तथा निर्माण व्यवसायी जयप्रसाद राईलाई समेत प्रतिवादी बनाएको छ। सबै प्रतिवादीमाथि साढे २५ लाख रुपैयाँको बिगो कायम गरिएको छ।
अख्तियारको निष्कर्ष
अनुगमन तथा प्राविधिक प्रतिवेदनले भवन प्रयोगयोज्ञ नरहेको, सम्झौता तथा नक्साअनुसारको कार्य नभएको र लागतअनुसारको सामाग्री नप्रयोग भएको उल्लेख गर्छ। तर, नेपालले निर्माणको जिम्मेवारी नलिएर नापी किताब र मूल्यांकन प्रतिवेदनमा हस्ताक्षर गर्दै रकम निकासा गरेकाले उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
ईण्ट्रिग्रेटेड आईडल घोषित नेपालमाथि यस्तो गम्भीर आरोप लाग्नु सिंगो प्रणालीको नैतिकता र पारदर्शिताप्रति प्रश्न उठाउने विषय बनेको छ। अब अदालतले नै सत्य–असत्यको फैसला गर्नेछ।