News Desk
वीरगञ्ज - पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८२ अन्तर्गत चौथो दिन आइतबार वीरगञ्जमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। विभिन्न सचेतनामूलक गतिविधिहरू आयोजना गरी नागरिकहरूलाई ट्राफिक नियमबारे जानकारी प्रदान गरिएको छ।
कार्यक्रम अन्तर्गत निशुल्क आँखा जाँच सिविर, ट्राफिक सचेतना पर्चा वितरण, स्टिकर टाँस्ने, तथा व्यावहारिक ज्ञान प्रदान गर्ने क्रियाकलापहरू सञ्चालन गरिए।
कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए। उनले नागरिकको सक्रिय सहभागिताबिना सुरक्षित यातायात सम्भव नभएको उल्लेख गर्दै, “ट्राफिक सप्ताहलाई हामी सचेतनाको अभियानका रूपमा लिएका छौं,” भने। वीरगञ्जको नयाँ बसपार्क क्षेत्रमा सम्पन्न आँखा जाँच सिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो। चालक, सहचालक र अन्य सवारीसम्बन्धी कर्मचारीहरूको लागि सञ्चालन गरिएको सिविरमा १०७ जनाले आँखा परीक्षण गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईं, ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, श्रीपुर प्रहरी चौकी प्रमुख, समाजसेवी दिलीप कार्की, वडा नं. ४ का अध्यक्ष जगत साह कानु, प्रभु अस्पतालका कर्मचारीहरू, तथा पत्रकार अभिलाष गुप्ता र दीपक चौरसियाको उपस्थिति रहेको थियो।

यसै क्रममा, साउथजोन मावि र एन्जल वर्ल्ड स्कूलका विद्यार्थीहरूलाई विभिन्न व्यस्त चोकहरूमा खटाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न यात्रुहरूलाई प्रेरित गर्ने कार्य गराइएको थियो। उनीहरूले सचेतनामूलक पर्चा वितरण गर्नुका साथै ट्राफिक शिष्टाचारबारे जानकारी पनि दिएका थिए।
आयोजकहरूका अनुसार यस्ता जनमुखी कार्यक्रमहरूले नागरिकमा ट्राफिक नियम प्रतिको चेतना वृद्धि गर्न मद्दत गर्ने विश्वास लिइएको छ। सप्ताहको बाँकी दिनहरूमा पनि विभिन्न स्थानहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी आयोजकहरूले दिएका छन्।
DIPU BARNWAL