News Desk
काठमाडौं, जेठ २५ |राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ नेता वामदेव गौतमले अब समाजवाद घोषणा गर्न समय व्यर्थ नगर्न चेतावनी दिएका छन्।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले देशमा समाजवाद कार्यान्वयनको समय आइपुगेको स्पष्ट पारे। “अब पनि ढिला गर्यो भने मुलुक अझै संकटमा जान सक्छ,” गौतमले भने, “समाजवादको बाटोमै समृद्धि सम्भव छ, अन्य बाटोले देशलाई अन्धकारमा लैजान्छ।”
गौतमले भ्रष्टाचार, चुनावी अपारदर्शिता र जनताप्रति बेइमानी गर्ने प्रवृत्तिलाई रोक्न समाजवादी व्यवस्था अपरिहार्य रहेको बताए। “आजभोलि इमानदार नेता त टिक्नै सक्दैनन्,” उनले भने, “भ्रष्टाचार नगरी चुनाव जित्ने, बाँच्ने र राज्य चलाउने अवस्था छैन भन्नु नै दुर्भाग्य हो।”
उनको भनाइमा, देशमा स्रोत, सम्भावना र क्षमता प्रशस्तै छन्, तर सही विचार र मार्गदर्शनको अभाव छ। “समाजवाद संविधानमा लेखिए पनि व्यवहारमा छैन,” उनले गुनासो गरे, “अब त्यो लिखित शब्दलाई जीवन्त बनाउने बेला आएको छ।”
गौतमले देशको समृद्धिका लागि अबको यात्रा समाजवादको स्पष्ट घोषणा र कार्यान्वयनबाट मात्र सम्भव हुने दाबी गरे।