News Desk
काठमाडौं, जेठ २८ – सगरमाथा आधार शिविर पदयात्राको क्रममा रहेका एक चिनियाँ नागरिक गोक्यो क्षेत्रमा मानसिक तनावमा परेका कारण संकटमा परेका थिए। व्यक्तिगत समस्याले गर्दा उनी अत्यधिक तनावमा आएका थिए र त्यस क्रममा सामाजिक सञ्जाल TikTok मा विभिन्न भावनात्मक तथा असामान्य प्रकृतिका भिडियोहरू पोस्ट गर्न थालेका थिए। ती भिडियोहरू सार्वजनिक भएपछि सुरक्षा निकायहरू सतर्क बनेका थिए।
पर्यटकको अवस्था गम्भीर हुन सक्ने आशङ्कामा, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपले तुरुन्तै आवश्यक कारबाही अघि बढायो। चिनियाँ दूतावाससँग समन्वय गरी तत्कालै प्रहरी टोली खटाइएको थियो। उच्च उचाइमा रहेका दुर्गम गोक्यो क्षेत्रसम्म पुग्नको लागि हेलिकप्टरको सहायता लिइयो।
उक्त टोलीले ती चिनियाँ नागरिकलाई गोक्योस्थित होटलबाट सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरिँदा शारीरिक अवस्था सामान्य देखिएको भए तापनि मानसिक रूपमा उनी तनावग्रस्त देखिएको पुष्टि भएको छ। अहिले उनलाई थप सल्लाह र आवश्यक सहयोग प्रदान गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ।
यस घटनाले नेपालमा पर्यटकको सुरक्षामा नेपाल प्रहरी, विशेषगरी पर्यटक प्रहरीको सक्रियता र तत्परताको उदाहरण प्रस्तुत गरेको छ। प्रहरी प्रशासनले भनेको छ कि यस्ता संवेदनशील घटनामा उनीहरू सधैँ जिम्मेवार भूमिका निर्वाह गर्न तत्पर छन्।