News Desk
विराटनगर, जेठ २८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किए एमालेबाटै आउने स्पष्ट संकेत गरेकी छन्। मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफ्नो राजनीतिक यात्रा एमालेबाट सुरु भएको र राष्ट्रपति पदसम्मको यात्रामा पनि एमालेको महत्वपूर्ण भूमिका रहेको स्मरण गराइन्।
“मेरो राजनीतिक जीवन नै एमालेबाट सुरु भएको हो। म राष्ट्रपति पनि एमालेको प्रस्तावमा बनेको हुँ। त्यसबेला अरू वामपन्थी र क्षेत्रीय दलहरूको समर्थन पनि प्राप्त भएको थियो,” भण्डारीले भनिन्, “तर कांग्रेसले भने कहिल्यै मलाई समर्थन गरेन। राष्ट्रपति जस्तो साझा पदका लागि पनि सर्वसम्मति बनाउन चाहेन।”
उनले कांग्रेसप्रति गुनासो गर्दै भनिन्, “आजको गठबन्धनमा एमाले र कांग्रेस सँगै छन्। तर विगतमा कांग्रेसले मलाई कहिल्यै समर्थन गरेन। बरु माओवादीलाई समर्थन गर्यो—सभामुख चयनदेखि अन्य महत्त्वपूर्ण अवसरहरूमा। लोकतान्त्रिक पार्टी भन्दै आएको कांग्रेसले राष्ट्रपतिको पदमा समेत समर्थन नगर्नु विडम्बनापूर्ण हो।”
भण्डारीले आफू वामपन्थी आन्दोलनको एक विशेष धारमा हुर्किएको र अहिलेसम्म पनि त्यही विचारमा अडिग रहेको बताइन्। “मान्छेहरू पार्टी बदल्छन्, तर म चाहिँ जहाँ जन्मे, हुर्कें, त्यही धारमा आज पनि छु,” उनले भनिन्।
पूर्वतिर भ्रमण गर्दा काठमाडौंमा भूइँचालो जान्छ भन्ने प्रश्नमा उनले हल्काफुल्का रूपमा प्रतिक्रिया दिँदै भनिन्, “पूर्वमा दुई कार्यक्रमका लागि आएकी हुँ—एक, उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय कार्यक्रम थियो; अर्को, उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले आयोजना गरेको विज्ञान प्रदर्शनी हेर्न आएकी हुँ। मलाई वैज्ञानिक विषयमा चासो छ, त्यसैले निमन्त्रणा स्विकारेँ।”
उनले थपिन्, “जनताको भावना बुझ्न देशका विभिन्न स्थानमा घुमिरहेकी छु। यसका लागि पार्टीको अनुमति लिइरहनु पर्दैन। समाजका विभिन्न क्षेत्रसँग मेरो चिनजान र सम्बन्ध छ।”
पूर्वराष्ट्रपतिले आफू कुनै गुटगत वा व्यक्तिगत स्वार्थका लागि राजनीति नगर्ने स्पष्ट पार्दै भनिन्, “म व्यक्तिगत आकांक्षा राख्दिन। राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँबाट सकिन्छ, त्यस दिशामा काम गर्न तत्पर छु।”
उनको पछिल्ला अभिव्यक्तिले राजनीतिमा पुनः सक्रिय हुने सम्भावना बलियो देखिएको छ, र यो यात्रा पनि एमालेसँगै जोडिने प्रस्ट संकेत समेत मिलेको छ।