कोरला नाकामा चीन सरकार पूर्वाधार निर्माण गर्न तयार थियो : पूर्व​ प्र​धान​म​न्त्री प्रचण्ड
News Desk
Jun-12 , 2025 तारिख 12:05 बेलुका

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले कोरला नाकामा भन्सार, अध्यागमन र एकीकृत सुरक्षा पोस्टलगायतका पूर्वाधार निर्माण गर्न सहमति दिएको बताएका छन्।

मुस्ताङको जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित सरकारी कार्यालयहरूसँगको छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी हुँदै प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार कोरला नाकामा पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनका अनुसार चीन सरकार अझै पनि भौतिक पूर्वाधार बनाउन इच्छुक छ, तर नेपाल सरकारको तर्फबाट आवश्यक योजना र खाका प्रस्तुत नहुँदा कार्यान्वयनमा ढिलाइ भएको हो। “हामीले नै स्पष्ट खाका नदिएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन,” उनले स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री दाहालले कोरला सडक आयोजना केवल मुस्ताङ जिल्लाको हितका लागि मात्र नभई समग्र राष्ट्रकै आर्थिक समृद्धिको मेरुदण्ड हुने बताए। नाका विकासलाई पर्यटन, अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन प्रवर्द्धनसँग जोडेर हेर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, “मैले चीनसँग कोरला नाकामा पूर्वाधार बनाइदिन आग्रह गरें, चीन तयार पनि भयो। अब हाम्रो पक्षबाट ठोस योजना अगाडि सार्नुपर्ने हो।”

प्रचण्डले कोरला सडक आयोजना छिटो सम्पन्न गर्न र स्तरोन्नतिको काममा तीव्रता दिनु आवश्यक रहेको औँल्याए। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि यस नाकाबाट नेपालको आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुग्ने उनको विश्वास छ।

उनको भनाइमा, रणनीतिक रूपमा महत्त्वपूर्ण यो नाकाको समुचित उपयोग गर्न सक्नुपर्छ, जसले दीर्घकालीन रुपमा राष्ट्रिय हितमा टेवा पुर्‍याउनेछ।