इजलास परिसरमै पुगेर न्यायाधीश थारूमाथि कालोमोसो
News Desk
Jun-13 , 2025 तारिख 12:27 बेलुका

उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासमा कार्यरत न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।

नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमलाई ज्यान सम्बन्धी मुद्दामा सफाइ दिने फैसलापछि नेकपा (बहुमत) का कार्यकर्ताहरू असन्तुष्ट बनेका थिए। त्यसैक्रममा, अस्थायी इजलास परिसरमै पुगेर ती कार्यकर्ताहरूले न्यायाधीश थारूमाथि कालोमोसो दल्ने आपत्तिजनक कार्य गरेका थिए।

दुर्व्यवहारमा संलग्न भएको आरोपमा प्रहरीले नेकपा बहुमत निकटका कार्यकर्ता किशोर कुँवर, पदमबहादुर मगर र गर्भु महतोलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन्।

यस घटनाले न्यायपालिकामाथिको सुरक्षा चुनौती र दलगत असहिष्णुताको गम्भीर सवाल उठाएको छ।