भार​त​मा जहाजमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु, थ​प​ २४ जनाको मृत्यु भ​एको पुष्टि
News Desk
Jun-13 , 2025 तारिख 12:42 बेलुका

भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन–ग्याट्विकतर्फ उडान भरेको एयर इन्डिया फ्लाइट AI171 (Boeing 787–8 Dreamliner) जहाजमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा ११२ जना चालकदल सदस्य र २३० जना यात्रु थिए। यात्रुहरूमा १६९ भारतीय, ५३ ब्रिटिश, ७ पोर्तुगाली र १ क्यानाडाली नागरिक रहेका थिए।

 हिजो १२ जुन २०२५ का दिन दिउँसो करिब १:३९ बजे टेकअफ गरेलगत्तै  जहाज उडेको ३० सेकेन्डमै Meghani Nagar क्षेत्रमा रहेको B.J. मेडिकल कलेज र विद्यार्थी होस्टेलमा ठोक्किएको थियो।  हृदयविदारक दुर्घटनामा स्थानीय बासिन्दा र विद्यार्थीसमेत परेका छन्। भूमिमा झण्डै २४ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। यति ठूलो क्षतिकाबीच एक मात्र व्यक्ति भने आश्चर्यजनक रूपमा जीवित उद्धार भएका छन्। ४० वर्षीय ब्रिटिश नागरिक विष्वाश कुमार रमेश, जो सीट ११A मा थिए, छाती, आँखा र खुट्टामा चोटसहित जीवित भेटिएका हुन्। प्रारम्भिक अनुसन्धानमा जहाज मोडिँदै गर्दा गियर्स उठाइएको र फ्ल्याप्स खुलेकै अवस्थामा रहेको देखिएको छ, जुन एउटा दुर्लभ र खतरनाक संयोजन हो।

दुर्घटनापछि भारतीय सेना, फायर ब्रिगेड, CISF र स्थानीय उद्धारकर्मीहरू परिचालित भई उद्दार कार्यमा जुटेका थिए। विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र पछि पुनः सञ्चालनमा ल्याइएको थियो। घटनाको छानबिन भारतको एएआईबी (Aircraft Accident Investigation Bureau), बेलायतको AAIB र अमेरिकाको NTSB संयुक्तरूपमा गरिरहेका छन्। दुर्घटनास्थलबाट ब्ल्याक बक्स (फ्लाइट डेटा र ककपिट भ्वाइस रेकर्डर) भेटिएको छ र त्यसको विश्लेषणबाट दुर्घटनाको यथार्थ कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ।

भारतका गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनास्थल र घाइतेहरूको उपचारस्थल भ्रमण गरेका छन्। बोइङ कम्पनी र एयर इन्डिया दुवैले घटनाको छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सन् २०११ मा सेवा सुरुआत गरेदेखि दुर्घटनारहित रहेको Boeing 787 Dreamliner मा भएको यो पहिलो घातक दुर्घटना हो। प्रारम्भिक तथ्यांकअनुसार यो दुर्घटनामा २६९ भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ। यो घटनाले विमान सुरक्षा, प्रविधि र मानवीय त्रुटिसम्बन्धी गम्भीर सवालहरू उठाएको छ, जसको समुचित अनुसन्धानले आगामी दिनमा यस्ता दुर्घटना रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।