हाल्स​म्म​ अपराधिक उपद्रवको अभियोगमा बाहेक दुर्गा प्रसाईं दोषी हुनन​सक्ने देखिएको अदाल​त​को भ​नाइ
News Desk
Jun-14 , 2025 तारिख 06:14 बिहान

काठमाडौं — जिल्ला अदालत काठमाडौंले तीनकुने घटनाका मुख्य अभियुक्तका रूपमा रहेका दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। यद्यपि, अदालतले उनमाथि लगाइएका चारवटा मुख्य अभियोगहरूमध्ये संलग्नता देखिने कुनै स्पष्ट आधार नभएको उल्लेख गरेको छ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट जारी आदेशमा भनिएको छ, “प्रसाईंमाथि लगाइएको राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग तथा संगठित अपराधका अभियोगमा कसुरदार हो भन्ने कुनै यथोचित र मनासिव आधार देखिएन।” आदेश अनुसार, हालसम्म प्राप्त प्रमाणहरूले यी कसुरमा संलग्नता पुष्टि नगरेको र पछि आवश्यक भएमा थप अनुसन्धानपछि ठहर अनुसार कारबाही अगाडि बढाइने उल्लेख छ।

तर, अपराधिक उपद्रवको अभियोगमा भने दुर्गा प्रसाईं दोषी हुनसक्ने यथोचित आधार रहेको अदालतले ठहर गरेको छ। आदेशमा भनिएको छ, “किटानी जाहेरी, सहप्रतिवादीहरूको बयान, मिसिलमा संलग्न मोबाइल परीक्षण प्रतिवेदन, कल डिटेल, प्रहरी प्रतिवेदन तथा घटनासम्बन्धी अन्य कागजातहरूबाट अभियुक्त दुर्गा प्रसाईं आपराधिक उपद्रवमा संलग्न रहेको विश्वास गर्नसक्ने पर्याप्त आधार देखिएको छ।”

त्यसैले, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३७ अनुसार मुद्दा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने ठहर गर्दै, सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी जारी गरिई अभियुक्तलाई स्थानीय कारागारमा पठाउन आदेश दिइएको हो।

अदालतले आफ्नो प्रारम्भिक निष्कर्षमा पुगोस् भनी अभियुक्तले दिएको बयान, सहप्रतिवादीहरूको अभिव्यक्ति तथा प्रमाणहरूलाई आधार मानेको छ। अदालतमा दिएको बयानमा प्रसाईंले भनेका थिए, “कार्यक्रम स्थलमा अश्रुग्याँस प्रहार भएपछि भावनामा बगेर संसद भवन कब्जा गरौँ भनेको हो, तर वास्तवमा संसद भवन जाने मनसाय थिएन।”

प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत, र कुमार तामाङलाई समेत थुनामा पठाउन आदेश दिइएको छ।

यसैबीच, बाँकी ३२ जना प्रतिवादीहरूलाई भने धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको छ। तीमध्ये कतिपयलाई जनही एक लाख रूपैयाँसम्म धरौटी माग गरिएको छ भने अन्यलाई १० हजार रूपैयाँसम्मको धरौटीमा रिहा गर्न आदेश गरिएको छ।

धरौटीमा रिहा हुनेहरूमा—

  • एक लाख रूपैयाँ धरौटीमा रिहा गरिनेमा:

    • हरिहर चौलागाईं

    • सन्तोष राजावादी (सन्तोषकुमार सिलवाल)

    • भीम उर्फ हेमराज थापा

    • विष्णुजंग बस्नेत उर्फ विष्णु बस्नेत

  • ५० हजार धरौटीमा रिहा हुनेहरू:

    • निराजनकुमार गिरी

    • प्रेमबहादुर श्रेष्ठ

    • दिनेश खड्का

    • अमित शाह

    • जितबहादुर श्रेष्ठ

  • २० हजार धरौटीमा रिहा हुनेहरू:

    • गोपाल मल्ल

    • पुष्कर खतिवडा

    • कुमार बस्नेत

    • मनबहादुर काला

    • रमेश राई

    • कमलकुमार विष्ट

    • लोकबहादुर बस्नेत

  • १० हजार धरौटीमा रिहा गरिने १६ जना:

    • पशुपति खड्का

    • विष्णु पराजुली

    • मुनेन्द्रराज भण्डारी

    • अनिलकुमार थापा

    • गोपाल बोहरा उर्फ तारानाथ बोहरा

    • दानबहादुर न्यौपाने

    • उमेश तामाङ

    • भानुभक्त पौडेल

    • देवीप्रसाद संग्रौला

    • प्रेम थापा मगर

    • ओमप्रकाश लुइँटेल

    • तेजेन्द्र रायमाझी

    • दिवस बोगटी क्षत्री

    • दिलकुमार श्रेष्ठ

    • सुमन कार्की

    • मनोजकुमार सापकोटा

अदालतको यो आदेशले तीनकुने घटनाको अनुसन्धान अझै गहिरिन सक्ने संकेत दिएको छ, र मुख्य अभियुक्त प्रसाईंमाथि भने आपराधिक उपद्रवबाहेकका अन्य गम्भीर आरोपमा संलग्नता पुष्टि हुन बाँकी रहेको देखिएको छ।

धेरै पढिएको