सदन अवरोध गर्नु भनेको निजामती, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु हो : प्र​च​ण्ड​
News Desk
Jun-15 , 2025 तारिख 12:29 बेलुका

नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको बृहत् हितका लागि सत्तापक्षसँग सदन खोल्ने सहमति गरेको बताएका छन्।

झापाको दमकमा शनिवार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रिया सम्बन्धित केही महत्त्वपूर्ण विषय सदनमा रहेको बताउँदै माओवादीले सदन अवरुद्ध गर्न नसक्ने तर्क गरे।

उनले सदन अवरोध गर्नु भनेको संघीय निजामती ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दा थाती राख्नु भएको बताए।

एक महिनाभित्र समिति बनाउन बाध्य पारेर छानबिन गर्ने शर्तमा सहमति गरेको बताए। तर केहीले आकाशै खस्यो, जहाजै डुब्यो, धर्ती भासियो जस्तो गर्ने गरेको उनको भनाइ छ। 

अध्यक्ष दाहालले भने, ‘सदन अवरुद्ध गर्नु भनेको संघीय निजामती ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु हो। एकथरी मान्छे खत्तम भयो, आकाशै खस्यो, जहाज नै डुब्यो, धर्ती नै भासियो जस्तो गरेका छन्। वाहियात कुरा हो। हामी संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने मूल पार्टी हो।’

प्रचण्डले माओवादी जिम्मेवार पार्टी मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व पार्टी वहन गरेको मूल पार्टी भएको तर्क गरे।