मोरङ | मोरङको पथरी–कानेपोखरी सडकखण्डमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवलदारको ज्यान गएको छ भने उनकी पत्नी र छोरी घाइते भएका छन्।
बेलबारी नगरपालिका–४ निवासी तथा इलामस्थित प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहालका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ स्थित डाँसमोरङ्गी पुल नजिकको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
शनिबार साँझ ८ बजे चौधरी पत्नी र छोरीसहित पथरीबाट कानेपोखरीतर्फ फर्कंदै गर्दा प्र.१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकल डाइभर्सनमा चिप्लिएर दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा उनकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन्। विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा गम्भीर चोट लागेको छ। दुवै जनाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। विमला पनि प्रहरी चौकी जमुनामा प्रहरी जवानका रूपमा कार्यरत छिन्।
दुर्घटनाको कारण तीव्र गति र सडकमा निर्माणाधीन अवस्थाका कारण अस्थायी डाइभर्सन असुरक्षित रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। काकडभिट्टा–लौकही सडक खण्डमा भइरहेका निर्माणकार्यका कारण पूर्वपश्चिम राजमार्गमा यस्ता डाइभर्सनहरू दुर्घटनाको hotspot बन्दै गएका छन्।