चितवन । चितवनको भरतपुर महानगरपालिका -१०, दूरसञ्चार रोडमा रहेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्दारा आयोजित ‘ ऐतिहासिक रक्तदान महोत्सव २०८२ ’ मा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । सो महोत्सवमा जिल्लाका ७ वटै पालिकाका रक्तदाता सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १ हजार ५ सय ३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १ सय ८१ युनिट रगत ‘ स्टोर ’ गरेका छन् । जुन १४ मा अन्तरराष्ट्रिय रक्तदाता दिवस पर्दछ । यहीँ अवसर पारेर सोसाइटीले उक्त महोत्सव आयोजना गरेको हो ।
‘उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ, तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन । रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो वृहत् कार्यक्रम आयोजना गरेका हौँ’, सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले भने । विभिन्न समितिहरू बनाएर काम गरेका कारण यो लक्ष्यमा पुग्न सकेको बुर्लाकोटीले बताए ।
रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत संकलन गर्दै ‘ राष्ट्रिय रेकर्ड ’ समेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले बताए । आयोजकहरूले १ हजार ५ सय पिन्ट ( पोका ) रगत संकलन गर्ने लक्ष्य राखेका थिए । जुन सजिलै पार भयो । ‘हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै १७ सय १७ जनाले रक्तदान गरे’, पाठकले भने । यसका साथै १ हजार जना नयाँ रक्तदाता तयार गर्ने र उनीहरूलाई नियमित रक्तदानमा सरिक बनाउने योजना आयोजकहरूले राखेका थिए । युवा रक्तदाता व्यापक सहभागी भएको पाठकले बताए ।