पुँजीगत खर्च बढाउन मन्त्री पौडेलको जोड: अस्पताल सुधार र स्वास्थ्य बीमालाई प्राथमिकता
News Desk
Jun-16 , 2025 तारिख 10:45 बिहान

काठमाडौँ | स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालसम्म पुँजीगत खर्च सन्तोषजनक रूपमा हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। मन्त्रालय अन्तर्गतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

मन्त्री पौडेलले भने, “पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्नु गम्भीर विषय हो। यथार्थमा, नागरिकलाई देखिने गरी स्वास्थ्य सेवामा सुधार ल्याउनु मेरो प्रमुख प्राथमिकता हो।”

उनले सेवा विस्तारसँगै अस्पतालहरूको गुणस्तरमा परिवर्तन ल्याउन पुँजीगत खर्चको खाँचो भएको उल्लेख गरे। "विशिष्ट सेवा विस्तारका साथ अस्पताल सुधार गरेर नागरिकलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सकिने परिवर्तन ल्याउने हाम्रो चाहना हो," मन्त्री पौडेलले भने, "तर, पर्याप्त लगानी नहुँदा लक्ष्य पूरा गर्न कठिनाइ भइरहेको छ।"

उनले अस्पतालहरूलाई सुधार नगरी जनशक्ति र पूर्वाधार थपेर मात्र समस्याको समाधान नहुने बताए। सुधारका लागि आवश्यक नीति निर्माणमा आफू सधैं तयार रहेको मन्त्री पौडेलको भनाइ थियो।

“कर्मचारीहरूको सक्रिय सहभागितामा मात्र पुँजीगत खर्च बढाउन सकिन्छ,” उनले भने, “यदि नीतिगत निर्णय आवश्यक पर्‍यो भने, त्यसमा म सधैं सकारात्मक छु।”

सरकारी अस्पतालप्रतिको जनविश्वासलाई कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पौडेलले सुधारको प्रक्रियामा कर्मचारीहरूको साथ खोजे। उनले हालको चुनौतीपूर्ण आर्थिक परिवेशमा बजेट सुनिश्चित गर्न आफूले निकै मेहनत गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी खर्चमा सबै कर्मचारी गम्भीर हुनुपर्नेमा जोड दिए।

त्यसैगरी, मन्त्री पौडेलले सरकारी कर्मचारीहरूसहित संगठित क्षेत्रलाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराउन सरकारले नीतिगत बाटो खोलिसकेको जानकारी गराए।

“हाल स्वास्थ्य बीमामा स्रोतको अभाव देखिन्छ,” उनले भने, “तर सबै कर्मचारी र संगठित क्षेत्र आवद्ध गराउन सकियो भने करिब ४० अर्ब रुपैयाँ संकलन गर्न सकिन्छ। त्यसका लागि कार्यान्वयनमा तपाईंहरूको सक्रिय सहयोग अपेक्षित छ।”