News Desk
काठमाडौं | सामाजिक सञ्जाल टिकटकमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्री प्रकाशित गरेको अभियोगमा रमा बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा तथा हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दीपक राज अवस्थीका अनुसार, बस्नेतमाथि नियोजित रूपमा सामाजिक द्वेष फैलाउने, प्रतिष्ठित व्यक्ति तथा संस्थाको छवि बिगार्ने उद्देश्यसहित तथ्यहीन तथा भ्रामक सामग्री सार्वजनिक गरेको आरोप लागेको छ।
बस्नेतले पछिल्लो समय टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमालेविरुद्ध टिप्पणी गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्। कुलमान घिसिङको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा आपत्ति जनाउँदै सरकारको आलोचना गरेकी थिइन्।
त्यस्तै, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनिता डंगोलप्रति पनि उनले आपत्ति जनाएकी थिइन्। टिकटकमा अन्य विभिन्न दलका नेताहरूमाथि समेत उनले आलोचनात्मक सामग्रीहरु पोष्ट गरेकी थिइन्।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको अभियोगमा अनुसन्धान सुरु गरिएको छ। अदालतबाट तीन दिनको म्याद लिएर प्रहरी अहिले अनुसन्धानको प्रक्रियामा जुटेको छ।