News Desk
ललितपुरस्थित मितेरी सहकारीमा करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा फरार रहेका मुख्य आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति काठमाडौं ल्याइएको छ।
इन्टरपोलको रेड कर्नर नोटिस जारी भएपछि नेपाली प्रहरीको टोली कम्बोडिया पुगेर भण्डारीलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को नेतृत्वमा विशेष टोली खटिएको थियो।
प्रहरी स्रोतका अनुसार भण्डारीले थाइल्यान्ड हुँदै कम्बोडिया यात्रा गरेका थिए भने पछिल्लो समय उनी श्रीलंकाको कोलम्बो पुगेको प्रारम्भिक जानकारीमा आएको थियो।
ज्योतिबहादुर भण्डारीसँगै नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरुद्ध पनि रेड कर्नर नोटिस जारी गरिएको थियो। मितेरी सहकारी बेलायती तथा भारतीय सेनाबाट अवकाश प्राप्त नेपाली लाहुरेहरूको पहलमा स्थापना गरिएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान अनुसार, भण्डारीले क्रिप्टोकरेन्सीमा लगानी गर्ने भन्दै मितेरी सहकारीका करिब १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेका छन्। उनलाई सीआईबीले देश फर्काएपछि हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
सिआइबीले सो प्रकरणमा नेपाली कांग्रेसका वरिष्ठ नेता धनराज गुरूङसँग समेत केही पटक बयान लिएको छ। तर, गुरूङले उक्त ठगी प्रकरणमा आफू संलग्न नरहेको बताउँदै आएका छन्।
प्रहरीले सहकारी ठगीका अन्य अभियुक्तहरूको खोजी तथा सम्पत्ति श्रोत अनुसन्धान पनि एकसाथ अघि बढाइरहेको छ।