News Desk
काठमाडौँ, असार १० | साहित्यकार पुष्पराज पौडेलद्वारा लेखिएको संस्मरण कृति ‘देशाटनः घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ को आज एक विशेष समारोहबीच राजधानी काठमाडौँमा लोकार्पण गरिएको छ। आवरण प्रकाशनको आयोजनामा आयोजित उक्त कार्यक्रममा कृतिको विमोचन प्रख्यात साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले गर्नुभयो।
कृति सार्वजनिक गर्दै डा. भट्टराईले "देशाटनले संक्षेपमा भए पनि सम्पूर्ण देश घुमाएको अनुभूति दिलाउँछ," भन्दै यो कृति नेपाली साहित्यमा संस्मरण विधाको उचाइ बढाउनेमा महत्वपूर्ण कडी सावित हुने धारणा व्यक्त गर्नुभयो। उहाँले हाल नेपाली साहित्यमा संस्मरण विधा दिनानुदिन लोकप्रिय बन्दै गएकोमा खुसी प्रकट गर्नुभयो।
समारोहमा बोल्दै साहित्यकार तीर्थराज वन्तले लेखक पौडेल रेडक्रसमा आबद्ध रहेकाले नियमित रूपमा डायरी लेख्ने बानीले गर्दा यस कृतिको प्रकाशन सम्भव भएको जानकारी दिनुभयो। त्यस्तै, पत्रकार तथा समीक्षक राजकुमार बानियाले जीवनको निरन्तर प्रवाह र गतिशीलता नै यात्रा र संस्मरण लेखनको आत्मा रहेको टिप्पणी गर्नुभयो।
कृतिकार पुष्पराज पौडेलले देशका हरेक जिल्लामा पुगेर देखेका, भोगेका र महसुस गरेका अनुभवहरू अझै पनि ताजै भएर मनमा बजिरहेकाले ती स्मृतिलाई कृतिमा समेटेर 'देशाटन' को रूपमा प्रस्तुत गरिएको स्पष्ट पार्नुभयो। उहाँले यो कृति केवल यात्रा वृतान्त मात्र नभएर देशप्रेमको दस्तावेज पनि भएको उल्लेख गर्नुभयो।
आवरण प्रकाशनका प्रबन्ध निर्देशक, कवि तथा कलाकार रमेश पौडेलले कृतिले संस्मरण विधाको लोकप्रियतालाई थप विस्तार दिने विश्वास व्यक्त गर्दै न्यूमिडिया प्रविधिको प्रयोगमार्फत यसलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउने योजना रहेको जानकारी दिनुभयो।
समारोहको सभापतित्व गरेका साहित्यकार मुकुन्द पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा विकास विज्ञ गोविन्द पौडेल र मारिया अधिकारीले कृतिकार पुष्पराज पौडेलको रेडक्रससँगको दीर्घ योगदान र साहित्यिक व्यक्तित्वबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो।सो अवसरमा कार्यक्रमका सभापति समेत रहनुभएका साहित्यकार मुकुन्द पौडेलले कवितामार्फत रचनाकारको बिषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रकाशकको तर्फबाट प्रमुख अतिथि डा. भट्टराईलाई उहाँकै अनुहार समेटिएको चित्रकला उपहार प्रदान गरिएको थियो। समारोहमा साहित्य, समाजसेवा र चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहित्यकार पुष्पराज पौडेलका यसअघि ‘रेडक्रसकर्मी ऊ’, ‘शिक्षाका ती दिन’ र ‘सयपत्री’ लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्। हाल विमोचित ‘देशाटन’ कृति २२४ पृष्ठको रहेको छ भने यसको मूल्य रू. ५०० निर्धारण गरिएको छ।