News Desk
वीरगञ्ज - पर्साको वीरगञ्जबाट प्रहरीले अहिलेसम्मकै ठूलो मात्रामा लागू औषध चरेस बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ३१९ केजी चरेससहित मकवानपुर जिल्लाको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, सम्भवत: जिल्लामा एकै पटक यति ठूलो मात्रामा चरेस बरामद गरिएको यो पहिलो घटना हो। स्याङ्तानको साथबाट नगद १ लाख ९२ हजार रुपैयाँ पनि बरामद गरिएको छ।
बुधबार बेलुकी बाराको परवानीपुरबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई परवानीपुर चोकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकको सामान लोड गर्ने भागमा प्लास्टिकका बोरामा पोका बनाएर राखिएको अवस्थामा ३१९ केजी चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
चरेस बरामद भएसँगै ट्रकका चालक स्याङ्तानलाई तत्काल नियन्त्रणमा लिइएको थियो। उनको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ पनि बरामद गरिएको मिश्रले बताए। बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा स्याङ्तानले उक्त चरेस धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगञ्जको ड्राइपोर्ट नाका हुँदै भारततर्फ लैजाने योजना रहेको बताएका छन्।
पक्राउ परेका स्याङ्तानलाई प्रहरी हिरासतमा राखिएको छ भने पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिहीबार जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मिश्रले चरेस तस्करीमा संलग्न अन्य व्यक्तिहरुको पनि सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जानकारी दिए।
उनले भने, “लागू औषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरीले अभियान सञ्चालन गरिरहेको छ। त्यसैको परिणामस्वरूप यति ठूलो मात्रामा चरेस बरामद गर्न सफल भएका हौं। अहिले बरामद चरेससँग सम्बन्धित तस्करीको नेटवर्क (नेक्सस) बारे पनि गहिरो अनुसन्धान भइरहेको छ।”
DIPU BARNWAL