News Desk
तनहुँ | मुग्लिन-पोखरा सडक आयोजना अन्तर्गत पूर्वी खण्डको कालोपत्र कार्य सम्पन्न भएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले एक अनौपचारिक कार्यक्रम आयोजना गरी खुसी साटासाट गरेको छ।
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर दूरीमा फैलिएको पूर्वी खण्डमा चार लेन विस्तारसँगै ‘डबल’ लेनमा कालोपत्र सम्पन्न गरिएको हो। निर्माण कम्पनी, परामर्शदाता, प्राविधिक र कामदारहरूको उपस्थितिमा विमलनगरमा आयोजना गरिएको उक्त कार्यक्रममा सफलतापूर्वक सम्पन्न मुख्य कार्यको खुसी सामूहिक रूपमा मनाइएको हो।
मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार मुख्य कालोपत्र कार्य सकिएको छ भने अब केवल स–साना कामहरू जस्तै सडक मार्किङ, सुरक्षा व्यवस्थापन तथा अन्तिम रूप दिने कार्य मात्र बाँकी रहेको जानकारी दिनुभयो।
"अहिले डबल लेनमा कालोपत्र कार्य सकिएको छ। यस खुसीयालीमा निर्माण कम्पनीले औपचारिकता बिना नै एक कार्यक्रमको आयोजना गरेर उपलब्धिलाई साझा बनाएको हो," इञ्जिनियर पाण्डेले भन्नुभयो।
विसं २०७७ माघ १७ गते सम्झौता भएको यस खण्डको निर्माण कार्य २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो। सम्झौता अनुसार तीन वर्षको निर्माण अवधिसहित थप ४५६ दिनको समय खपत गरी अहिले मुख्य कालोपत्र कार्य पूरा भएको हो। निर्माणको अन्तिम म्याद आगामी असार २९ गते तोकिएको छ।
विसं २०२६ सालमा रेखाङ्कन गरिएको यो सडकमा पछिल्लो समय सवारी चाप तीव्र रूपमा बढेसँगै एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा चार लेनमा विस्तार गरिएको हो। पूर्वी खण्डको निर्माणका लागि कुल लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ।
यो खण्डको समयमै सम्पन्नताले परियोजनाको गति तिव्र बनाएको छ भने सडक प्रयोगकर्ताका लागि सहज, सुरक्षित र गुणस्तरीय यात्रा सुनिश्चित हुने अपेक्षा गरिएको छ।