News Desk
सिन्धुपाल्चोक, असार १४ | सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ छ्याङ्दीमा एक ११ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार बालिकाको शव असार १० गते राति घरदेखि झण्डै ४ सय मिटर टाढा जंगलमा फेला परेको थियो। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान थालेको थियो। बालिकाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौं पठाइएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रारम्भमा चार जनालाई पक्राउ गरिएको थियो भने पछि थप एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले सामूहिक बलात्कारपछि घटना लुकाउन बालिकाको हत्या गरिएको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिहरूमा भोटेकोसी गाउँपालिका–५ मार्मिङका निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), नामज्ञाल शेर्पा (३२), दावा तामाङ (२०) र लाक्पा पासाङ तामाङ (२२) रहेका छन्।
प्रहरीले अभियुक्तहरूको घरमा खानतलासी गर्दा घटनामा प्रयोग गरिएका केही वस्तुहरू पनि फेला पारेको जनाएको छ।
प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद लिएको छ।
घटनाले स्थानिय समुदाय स्तब्ध भएको छ भने पीडित परिवार न्यायको माग गर्दै न्यायिक प्रक्रिया छिटो टुंग्याउन आग्रह गरिरहेको छ। प्रहरीले घटनाको सबै पाटोको गहिरो अनुसन्धान भइरहेको जनाएको छ।