News Desk
काठमाडौं | नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित पुनरागमन र पार्टी नेतृत्वका लागि उनीप्रति बढ्दो समर्थनका संकेत देखिन थालेका छन्। पार्टीका शीर्ष तहका नेताहरूको समर्थनले भण्डारीको नाम फेरि एमाले नेतृत्वको केन्द्रमा आउने सम्भावना बलियो बनाएको छ।
निकट स्रोतहरूका अनुसार एमालेको सचिवालयमा रहेका बहुमत सदस्यहरू भण्डारीको पक्षमा खुलिसकेका छन्। विशेषतः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त प्रस्ट रुपमा भण्डारीको नेतृत्वलाई स्वागत गर्न तयार रहेको अभिव्यक्ति दिइसकेका छन्।
पोखरेलले एमालेको विचारधारात्मक आधार ‘जनताको बहुदलीय जनवाद’ को प्रवर्धन र संगठन विस्तारका लागि मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक गतिविधि देशभर सक्रिय रूपमा सञ्चालन गर्न लागिपरेका छन्। भण्डारीलाई आगामी महाधिवेशनमा पार्टीको अध्यक्ष बनाउने योजना अन्तर्गत उनले एमाले विधानमा ७० वर्षे उमेर सीमा र एउटै पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवारी नदिनेजस्ता व्यवस्था पुनः समावेश गर्न आन्तरिक छलफल अघि बढाइसकेका छन्।
एमाले उपाध्यक्ष गुरु बरालले पनि भण्डारीको सम्भावित भूमिकालाई लिएर केही नेताहरूबाट सुझाव आएको स्वीकार गर्दै भने, “पार्टीलाई मजबुत बनाउने उद्देश्यले विचार आउनु स्वाभाविक हो। तर निर्णय भने पार्टीको साझा प्रक्रिया अनुसार हुनेछ। बाहिर जे आएको छ, त्यो पूर्णरूपमा सही होइन।”
बरालले थपे, “विद्या भण्डारी र केपी ओलीबीच द्वन्द्व निम्त्याउने नियोजित खेल भइरहेको छ, जुन पार्टीको दृष्टिले खतरनाक हुन सक्छ। अहिलेको मुख्य लक्ष्य मिसन ०८४ हो—बहुमत ल्याउनु हो, न कि सानातिना विवादमा अल्झनु।”
पूर्वपदाधिकारी फर्कने परम्परा : सुवास नेम्बाङ उदाहरण
भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई समर्थन गर्नेहरू भन्छन्—एमालेमा संवैधानिक पद सम्हालेपछि पुनः पार्टीमा फर्केर भूमिका निर्वाह गर्ने परम्परा पहिल्यै स्थापित भइसकेको छ।
उनीहरू सुवास नेम्बाङको उदाहरण दिन्छन्, जो संविधान सभा अध्यक्ष रहेपछि एमाले उपाध्यक्ष बनेर पार्टी नेतृत्वमा फर्किएका थिए। यही नजिरले पूर्वराष्ट्रपति भण्डारीलाई पनि कुनै संवैधानिक बाधा नरहेको पुष्टि गर्छ।
भण्डारी पक्षधरद्वारा अभियान सुरू, नारासहित पोस्टर सार्वजनिक
भण्डारीको सम्भावित नेतृत्वको विपक्षमा षड्यन्त्र हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समर्थकहरूले सामाजिक सञ्जालमा अभियान शुरू गरेका छन्। “जनताको बहुदलीय जनवाद: मदनको नीति, विद्याको नेतृत्व” भन्ने नारासहितका पोस्टरहरू सार्वजनिक गर्दै भण्डारी पक्षधरहरूले माहोल बनाउन थालेका छन्।
जनताको बहुदलीय जनवाद एमालेका दिवंगत महासचिव मदन भण्डारीद्वारा प्रतिपादित मार्गदर्शक सिद्धान्त हो। २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएका मदन भण्डारीको राजनीतिक दृष्टिकोणलाई विद्यादेवी भण्डारीले निरन्तरता दिने सन्देश दिन खोजिएको देखिन्छ।
विद्या भण्डारीले २०७२ कात्तिक १० मा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपति बनेकी थिइन्। २०७४ फागुन २३ मा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भइ २०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि उनी शीतलनिवासबाट बाहिरिएकी थिइन्।
त्यसयता उनी विभिन्न जिल्ला र कार्यकर्ता भेटघाटमार्फत एमालेभित्रको सम्बन्ध पुनः सुदृढ बनाउँदै पुनर्सक्रिय बन्ने संकेत दिइरहेकी छन्।