कोलकाताको ल कलेज परिसरमै छात्रामाथि सामूहिक बलात्कार, तीन आरोपी पक्राउ
News Desk
Jun-28 , 2025 तारिख 12:55 बेलुका

पश्चिम बंगालको राजधानी कोलकातास्थित एक ल कलेजको परिसरमै एक छात्रामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई शुक्रबार अदालतमा पेश गर्दै चार दिनको प्रहरी हिरासतको अनुमति लिएको छ। पीडित युवतीले दिएको जाहेरी (एफआईआर) अनुसार मुख्य आरोपी मनोजित मिश्राले आफूलाई विवाह प्रस्ताव गरेका थिए, तर त्यो अस्वीकार गरेपछि उनले साथीसहित मिलेर जबरजस्ती बलात्कार गरेका हुन्।

पीडितका अनुसार बलात्कारको क्रममा ती आरोपितहरूले भिडियोसमेत खिचेका थिए। ती भिडिओ फूटेजलाई आधार बनाएर घटनाबारे कसैलाई भन्यो भने इन्टरनेटमा सार्वजनिक गरिदिने धम्कीसमेत दिएका थिए।

प्रहरीले हाल घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ। घटनाले शैक्षिक संस्थाभित्रै यौन हिंसाको बढ्दो जोखिमबारे गम्भीर प्रश्न उठाएको छ।