नागढुङ्गा सुरुङ नजिक पुनः जमिन चिरा, पहिरोको जोखिम बढ्यो
News Desk
Jun-29 , 2025 तारिख 12:02 बेलुका

धादिङ | निर्माणाधीन नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको काठमाडौं प्रवेशद्वार नजिक पुनः जमिन चिरा परेको छ। अघिल्लो वर्ष पहिरो गएको सोही स्थानमा फेरि चिरा देखिएपछि जोखिम थपिएको छ।

शनिबार उक्त क्षेत्रमा जमिन चिरिएको र केही भूभाग सरेको सूचनाका आधारमा सुरुङ आयोजना तथा सडक आयोजनाका प्रमुख तथा प्राविधिक टोलीले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार सुरुङ प्रवेशद्वारअगाडि, दाहिनेपट्टिको करिब १८० मिटर चौडा र ४० मिटर अग्लो भूभागमा फेरि पहिरो खस्न सक्ने प्राविधिक अनुमान छ।

यही क्षेत्र अघिल्लो वर्ष पनि पहिरिएको थियो र त्रिपाल लगाएर ढाकिएको थियो। तर हाल पुनः जमिन चर्किएको देखिएपछि माथिल्लो भागमा पानी प्रवेश रोक्न त्रिपाल लगाउने तथा थप सुरक्षात्मक उपाय अवलम्बन गर्न निर्देशन दिइएको घिमिरेले जानकारी दिनुभयो।

उक्त पहिरो सम्भावित क्षेत्रमाथि केही घरहरू छन् भने तल मुख्य सडक गुज्रिएको छ। पहिरो खसेमा माथिको बस्ती र तलको सडक दुबै प्रभावित हुने खतरा रहेको प्राविधिक टोलीको निष्कर्ष छ।