महेश बस्नेतको माफी : समीक्षा अधिकारीप्रति लेखिएको स्टाटसमा सुधार गर्दै प्रष्टिकरण
News Desk
Jun-29 , 2025 तारिख 01:26 बेलुका

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले गायिका समीक्षा अधिकारीप्रति लेखिएको आफ्नो फेसबुक स्टाटसप्रति क्षमा माग्दै संशोधन गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत गरिएको बस्नेतको टिप्पणीपछि समीक्षाले प्रतिवाद गर्दै उक्त स्टाटसले आफ्नो चरित्रमाथि गम्भीर आक्षेप लागेको बताउँदै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खुलेरै गुनासो जनाएकी थिइन्।

समीक्षाले फेसबुकमार्फत लेखेकी छिन्, "सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको पोस्टले केही राहत दियो। तर त्यो राहत स्थायी बन्न नपाउँदै तपाईंका निकटतम विश्वासपात्र महेश बस्नेतज्यूले मेरो चरित्र हत्या हुने गरी लेख्नु भएको देख्दा म स्तब्ध र पीडित भएकी छु। जनताको अदालतभन्दा माथि कोही छैन। मैले जिन्दगीमा कहिल्यै जानाजान कसैलाई हराएको छैन, बरु जिताएको छु। बस्नेतज्यूलाई सोध्न चाहन्छु— यदि म तपाईंकी डाक्टर छोरी जस्तै हुन्थें भने, के तपाईं यस्तो लेख्न सक्नुहुन्थ्यो?"

यसप्रति प्रतिक्रिया जनाउँदै बस्नेतले आफूमाथि भइरहेका आरोप र निरन्तर आक्रमणको सन्दर्भमा लेखिएको स्टाटसको केही अंशले समीक्षा अधिकारीलाई असर पारेको महसुस गर्दै स्टाटस सच्याएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, "मेरो स्टाटस मेरो आत्मरक्षा र आफूलाई लक्षित आरोपहरूको सन्दर्भमा लेखिएको थियो। त्यस क्रममा केही प्रसंग जोडिए पनि कसैको चरित्र हत्या गर्ने नियत थिएन। विगतका पीडालाई कोट्याउने मनसाय पनि थिएन। समीक्षा बहिनीको भावनालाई सम्मान गर्दै, मेरो अभिव्यक्तिमा कुनै कमजोरी देखिएको भए म क्षमाप्रार्थी छु र उक्त स्टाटसमा संशोधन गरेको छु।"