News Desk
लमजुङ, राईनास | लमजुङ जिल्लाको राईनास नगरपालिका, साविक चक्रतिर्थ गाविसको केन्द्रमा अवस्थित चक्रतिर्थ धाममा एउटा ऐतिहासिक र धार्मिक महत्वको स्मृति स्थल स्थापना गरिएको छ। नेपाल एकीकरणको प्रारम्भिक चरणसँग जोडिएको यो स्थलमा हालै बनाइएको मूर्तिले इतिहासको नयाँ चित्रण प्रस्तुत गरेको छ।
चक्रतिर्थ धाम विकास समितिद्वारा सञ्चालनमा ल्याइएको यो कार्यले शाह वंशको उत्पत्ति, पारिवारिक विछोड, र मातृ ममताको अविस्मरणीय स्मरणलाई मूर्तरूपमा प्रस्तुत गरेको छ। राईनासको ऐतिहासिक राईनासकोटमा बस्दै आएका दुई भाइहरू नरहरि शाह र द्रव्य शाह बीचको सम्भावित युद्ध रोकेको प्रसंगलाई मूर्तिकलाका माध्यमबाट सार्वजनिक गरिएको छ।
इतिहास अनुसार, द्रव्य शाह गोरखा (लिगलिग) का राजा बन्ने क्रममा आफ्ना दाजु नरहरि शाहसँग वाकयुद्ध र मनमुटावमा परेपछि दुईबीच गृहयुद्धको सम्भावना बलियो बनेको थियो। यस घटनाले आमाबुबा र गाउँभरि चिन्ता सिर्जना गरिरहेको अवस्थामा, आमाले चेपे नदीमा दूध बगाएर दुई सन्तानबीचको लडाइँ रोक्न गरेको प्रयास स्मरणीय रहेको छ। यही प्रसंगलाई केन्द्रमा राखेर बनाइएको यो मूर्ति अब आम दर्शकका लागि चक्रतिर्थ धाममा अवलोकन गर्न सकिने छ।
स्थानीय बासिन्दा र संस्कृतिविद्हरूले चक्रतिर्थ धामलाई धार्मिक, पुरातात्त्विक तथा पर्यटन केन्द्रको रूपमा विकास गर्न थप पहल आवश्यक रहेको उल्लेख गरेका छन्। 'पुराना पुस्ताले पढेका तर नयाँ पुस्ताले थाहा नपाएका ऐतिहासिक सन्दर्भहरू आज मूर्तिकृत रूपमा देख्न पाउनु गौरवको विषय हो' एक स्थानीय अगुवाले भने। साथै, यस स्थलमा एउटा स्मारक शिला (सिलापत्र) स्थापना गरी संक्षिप्त ऐतिहासिक विवरण लेख्ने कार्य समेत यथाशिघ्र अघि बढाइने योजना रहेको समितिले जनाएको छ।