News Desk
काठमाडौं, असार १५ । धान दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रपति कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल स्वयं उपस्थित भई रोपाइँमा सहभागी हुनुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रलाई केवल जीवन निर्वाहको माध्यमको रूपमा सीमित नराखी व्यवसायिक बनाउने खाँचो रहेको उल्लेख गर्नुभयो। उहाँले कृषिसहित सबै प्रकारका श्रमको सम्मान गरिनुपर्नेमा जोड दिँदै, धान उत्पादनमा प्रोत्साहन दिन तथा कृषकप्रति सम्मान प्रकट गर्न आफू रोपाइँमा सहभागी भएको स्पष्ट गर्नुभयो।
राष्ट्रपतिले कृषकहरूलाई ‘अन्नदाता’ को रूपमा सम्मान गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि पेसालाई रोजगारीको भरपर्दो आधारका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमपछि शीतल निवास परिसरमै दही चीउरा खाने परम्परागत कार्यक्रम समेत आयोजना गरिएको थियो।