News Desk
असार १५, २०८२, कास्की | असार १५ को अवसरमा पोखरामा आयोजित रोपाइँ महोत्सवले विदेशी पर्यटकलाई हिलोमा रमाउने अद्भुत अनुभव दिएको छ। आइतबार पोखरा २६ स्थित गुँदेताल फाँटमा आयोजित कार्यक्रममा पाहुनाहरूले हिलो छ्यापाछ्याप गर्दै, धान रोप्दै र स्थानीय खेलमा सहभागी हुँदै गाउँले जीवनशैलीको स्वाद लिएका थिए।
महोत्सवमा रस्साकस्सी, गोरू दौड, माछा समाउने, हिले दौडजस्ता परम्परागत तथा मनोरञ्जनात्मक खेलहरू आयोजना गरिएका थिए। पहिलोपटक यस्तो महोत्सवमा सहभागी भएका धेरै विदेशी पर्यटकहरूले यो सांस्कृतिक अनुभव आफूले कहिल्यै नदेखेको, रमाइलो र अविस्मरणीय भएको प्रतिक्रिया दिए।
'पोखरा सबै मौसमका लागि उपयुक्त छ' भन्ने नाराका साथ पोखरा पर्यटन परिषद्ले करिब दुई दशकदेखि निरन्तर रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ। यो महोत्सव विशेषगरी मनसुनको अफ सिजनमा पर्यटक भित्र्याउने रणनीतिक अभियानको रूपमा लिइन्छ।
पोखराका कृषियोग्य फाँटहरू, जस्तै बिरौटा, बिरूवा, कुँडहर, महतगौँडा, लामाचौर, लेखनाथ, काहुँखोला र पामे पछिल्ला वर्षहरूमा शहरीकरणको चपेटामा पर्दै गएका छन्। यस्ता फाँटहरूमा घर र भौतिक संरचनाको विस्तारले खेतीयोग्य जमिनको क्षेत्रफल खुम्चिँदै गएको छ।
त्यसैबीच, रोपाइँ महोत्सवले एकातर्फ पर्यटकलाई नेपाली परम्परा र कृषिसंस्कृतिसँग नजिक बनाउने काम गरिरहेको छ भने अर्कातर्फ स्थानीय बासिन्दालाई आफ्नो मौलिक संस्कृति जगेर्ना गर्ने प्रेरणा पनि दिइरहेको छ।
यसले पोखरालाई 'केवल हिमाल र फेवातालको शहर' भन्ने छविबाट अघि बढाएर, 'सांस्कृतिक र कृषिपर्यटनको गतिशील गन्तव्य' को रूपमा स्थापित गर्ने लक्ष्य लिएको देखिन्छ।