News Desk
काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा सरकार र संसदीय समिति निष्क्रिय पार्ने नियतका साथ विभिन्न सरोकारवालाले हस्तक्षेप गरिरहेको आरोप लगाउनुभएको छ।
शिक्षा समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि भएको छलफलमा सहभागी हुँदै सांसद भट्टराईले सरकार नै स्वार्थ समूहको दबाबमा काम गरिरहेको दाबी गर्नुभयो। उहाँका अनुसार विधेयकको मस्यौदा वा प्रतिवेदनको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने सरकार आफैं स्वार्थ समूहहरूसँग परामर्शमा व्यस्त रहेको छ।
"सरकारले आफ्नो पक्ष प्रस्ट्याउनेभन्दा पनि बाह्य दबाबमा विधेयकको स्वरूप तय गर्न खोज्दा संसदको गरिमा र मर्यादा नै खण्डित हुने खतरा छ," भट्टराईले भनिन्।
बैठकमा सहभागी अधिकांश सांसदहरूले पनि ऐन निर्माणमा सरोकारवालाको अत्यधिक प्रभाव र दबाब स्वीकार्य नहुने धारणा राख्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका थिए।