इँटाभट्टाको टहरामा हुर्किएकी गोमाको डाक्ट​र​ ब​न्ने स​प​ना, ल्याईन​ ४ जिपिए
News Desk
Jul-01 , 2025 तारिख 12:17 बेलुका

भक्तपुर । एसईई 2081 को नतिजा सार्वजनिक भएको दिन भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्ने गोमा श्रेष्ठ धान रोपाइँको मेलाबाट थकित हुँदै घर फर्किएकी थिइन्। जब उनलाई परीक्षा नतिजा आएको थाहा भयो, उनले तुरुन्तै अनलाइनमार्फत आफ्नो परिणाम हेर्न खोजिन्। नतिजा देख्दा उनी आश्चर्यचकित भइन्-सामुदायिक विद्यालयमा अध्ययन गर्दै पनि उनले ४ जिपिए ल्याएकी थिइन्।

गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालय, सुडालबाट एसईई परीक्षा दिएकी थिइन्। उनी भक्तपुर जिल्लाका ३० उत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल मात्र नभई चाँगुनारायण नगरपालिकामै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पनि बनिन्।

श्रम र सङ्घर्षको पृष्ठभूमिबाट जन्मिएको सफलता
गोमाको परिवारको स्थायी घर रामेछापको खनियाँपानी हो। जब उनी चार वर्षकी थिइन्, उनका बाबु मीनबहादुर श्रेष्ठ परिवारसहित भक्तपुर आए। आर्थिक कठिनाइका बीच छोरीको शिक्षा हेरेर उनले थातथलो छाडे। मीनबहादुरले भने, “सानैदेखि गोमालाई पढाइमा चासो थियो। खनियाँपानीमा विद्यालय टाढा र अप्ठ्यारो भएपछि छोरीको भविष्य उज्ज्वल बनोस् भनेर भक्तपुर झरियो।”

भक्तपुर आएपछि उनले इँटाभट्टामा काम सुरु गरे भने गोमालाई त्यही नजिकैको विद्यालयमा भर्ना गराए। बिहान बेलुका इँटाभट्टाको खलामा खेल्दै हुर्केकी गोमा साँझपख आमाबुबाको काममा पनि सघाउन थालिन्। बिहान बेलुका इँटा पल्टाउने, सुकाउने, सर्दै–घाममा राख्ने काम गरिरहँदा पनि उनको पढाइमा लगाव भने घटेन। कक्षा ९ सम्म पढाइ र काम सँगसँगै चल्यो।

तर कक्षा १० पुगेपछि गोमाले पढाइलाई प्राथमिकतामा राखिन्। “बुबा–आमाले पनि एक वर्ष पढाइमा ध्यान दिन भन्नुभयो। विद्यालयले पनि परीक्षा नजिकिँदैछ, पढाइमा जोड दिनुपर्छ भन्यो। त्यसपछि मैले आफ्नो समय व्यवस्थापन फेरें,” उनले भनिन्।

सपना : असल डाक्टर बन्ने
 ४ जिपिए ल्याएर चम्किएकी गोमाको सपना छ "डाक्टर बन्ने"। उनी प्लस टु विज्ञान संकायमा पढेर छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्ने लक्ष्य राख्छिन्। गोमा भन्छिन्, “नेपालको जुनसुकै मेडिकल कलेजबाट छात्रवृत्तिमा एमबिबिएस पढ्ने चाहना छ। त्यसपछि असल डाक्टर बनेर आमाबाबु, देश र जनताको सेवा गर्ने सपना छ। त्यसका लागि अहिले नै मेहनत गर्नुपर्छ भन्ने मलाई थाहा छ।”

इँटाभट्टाको धुलोमैलोबीच हुर्किए पनि गोमाको सोच सफा र सपनाहरू उच्च छन्। उनको जीवनले प्रमाणित गर्छ– कठिनाइको भूमिबाट पनि उत्कृष्टता उम्रन सक्छ।