नेपाली सेनाका दुई अधिकृत भ्रष्टाचार आरोपमा सेवाबाट बर्खास्त
News Desk
Jul-04 , 2025 तारिख 12:45 बेलुका

काठमाडौं | सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की सेवाबाट बर्खास्त गरिएको छ।

सैनिक विशेष अदालतले बिहीबार निर्णय सुनाउँदै दुवै जनालाई सैनिक अनुशासन र सम्पत्तिसम्बन्धी कसुर गरेको ठहर गरेको हो। सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला भएको हो। साथै, अपचलन भएको रकम उनीहरूबाट असुलउपर गर्ने आदेश पनि दिइएको छ।

सैनिक कल्याणकारी कोषको करिब २ करोड २२ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा सहायक रथी खड्का र मेजर कार्कीमाथि सैनिक प्रहरीको हिरासतमा राखी कोर्टमार्शल प्रक्रिया अगाडि बढाइएको थियो।

सेनाले पुष्टि गरेको अनुसार, चार जना (जसमध्ये दुई जना पहिले नै अवकाश भइसकेका) मिलेर सो रकम हिनामिना गरेका थिए। प्रारम्भिक छानबिनपछि उनीहरूको संलग्नता पुष्टि भएपछि औपचारिक अभियोग प्रक्रिया अघि बढाइएको थियो।

सेनामा यस्तो व्यवस्था छ कि कुनै पनि ठूलो रकम निकाल्न कम्तीमा दुई अधिकृतको हस्ताक्षर आवश्यक पर्छ। त्यस्तै, अवकाश पाएका सैनिकले बिमा र आवाससम्बन्धी रकम स्वयम् हस्ताक्षर गरेर मात्र बुझ्न सक्ने कानुनी व्यवस्था छ। तर, यी व्यक्तिहरूले ती प्रक्रियाहरू उल्लंघन गरी विभिन्न व्यक्तिको नाममा रकम झिकेर अनियमितता गरेका थिए।

छानबिनको क्रममा आत्मराम थापाले ३० लाख रुपैयाँ अपचलन गरेको स्वीकार गरिसकेको सेनाको भनाइ छ। अर्का संलग्न लक्ष्मण अधिकारी दुई वर्षअगाडि अवकाश लिएर अमेरिकातर्फ गएका थिए। उनीविरुद्ध सैनिक ऐन लागु नहुने भएकाले प्रहरीमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

अदालतमा दायर मुद्दामा मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ अनुसार ‘आपराधिक विश्वासघात’ गरेको अभियोग लगाइएको छ। यदि दोषी ठहरिएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ। साथै, अपचलन भएको रकम फिर्ता गराउने मागसमेत गरिएको छ।