धरानको श्रम शिविरमा किशोरीमाथि यौन दुर्व्यवहार, आरोपी पक्राउ
News Desk
Jul-05 , 2025 तारिख 12:37 बेलुका

धरान, सुनसरी – धरान उपमहानगरपालिका–१६ मा सञ्चालन गरिएको श्रम शिविरमा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। पीडित पक्षको जाहेरीपछि ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले धरान–१७ स्थित पृथ्वीचोकबाट बुधबार साँझ नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले आरोपीलाई सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

गत वैशाख १७ गते बहुभाषिक पाठशालामा खोलाले कटान गरेको स्थानमा तारजाली लगाउने श्रमदान कार्यमा किशोरी सहभागी थिइन्। यही क्रममा खाना पकाउने जिम्मेवारीमा रहेका राईले किशोरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। पीडितकी आमाले तत्कालै प्रतिकार गर्दै राईलाई कुटपिटसमेत गरेकी थिइन्।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यद्यपि, परिवारले उजुरी दर्ता नगराउन दबाब आएको आरोपसमेत लगाएका छन्। पीडितका अनुसार कुन्दन श्रेष्ठ र समीर तामाङले ‘आरोपी मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्’ भन्दै घटनालाई ढाकछोप गर्न खोजेका थिए।

मेयरको अड्कलबाजी र विरोध

घटना सार्वजनिक भएपछि धरानका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जालमार्फत आफैं घटनाको सुनुवाइ गर्ने घोषणा गरेका थिए। उनले, "यदि यौन दुर्व्यवहार प्रमाणित भए म कारबाही गर्छु, होइन भने पीडितले माफी माग्नुपर्छ," भन्दै विवादास्पद टिप्पणी गरेका छन्।

उनको यस्तो भनाइप्रति वडाध्यक्ष मुरारी भट्टराईले आपत्ति जनाउँदै यौन दुर्व्यवहारजस्तो संवेदनशील मुद्दामा कानुनी प्रक्रिया बाइपास गर्न खोजिएको बताएका छन्।

सांघातिक विवाद र राजनीतिक तनाव

उक्त श्रमदान कार्यक्रमकै बेला मेयर साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीच सार्वजनिक विवाद भएको थियो। उपभोक्ता समिति गठन र रकम खर्चमा देखिएको अनियमितताका कारण मेयरले बजेट निकासा रोकेपछि विवाद चर्किएको हो।

विवादकै क्रममा मेयर समर्थकहरूले उपमेयरमाथि हातपातको प्रयास गरेपछि नेकपा माओवादी केन्द्रले नगरपालिकाको घेराउसमेत गरेको थियो। यसले गर्दा नगरपालिकाको बजेट प्रक्रिया समेत अवरुद्ध भएको छ।

प्रहरी चौकी निर्माणमा पनि विवाद

धरान उपमहानगरपालिका क्षेत्रमै निर्माणाधीन प्रहरी चौकी भवनका विषयमा पनि मेयर साम्पाङले असहमति जनाउँदै प्रदेश सरकारलाई दबाब दिएका थिए। चौकी निर्माण रोक्न गरिएको तालाबन्दीपछि श्रमदानको दौरान भएको यौन दुर्व्यवहारको घटना थप चासोको विषय बनेको हो।