भारतबाट सात नेपाली बालकको उद्धार, अभिभावकको जिम्मा लगाइयो
News Desk
Jul-06 , 2025 तारिख 12:44 बेलुका

भारतको विभिन्न स्थानबाट उद्धार गरिएका सात जना नेपाली बालबालिकालाई जनकपुरधाममा आयोजित कार्यक्रममार्फत अभिभावकको जिम्मा लगाइएको छ।

मधेश प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादवको उपस्थितिमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, जनकपुरधामले ती बालकहरूलाई परिवारको जिम्मा लगाएको हो।

तीन महिनाअघि रोजगारीको खोजीमा भारतको चेन्नईतर्फ गइरहेका बालकहरू बिहारस्थित मुजफ्फरपुर रेल्वे स्टेशनमा भारतीय प्रहरीको नियन्त्रणमा परेका थिए। त्यसपछि उनीहरूलाई स्थानीय बाल कल्याण समितिको संरक्षणमा राखिएको थियो।

सम्बन्धित निकायहरूबीच समन्वयपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शुक्रबार ती बालबालिकालाई नेपाल ल्याइएको धनुषा प्रदेश समन्वय केन्द्रका अधिकारी सञ्जीव महतोले जानकारी दिए।

उद्धार गरिएका बालबालिकामध्ये सर्लाही जिल्लाका तीन र महोत्तरी जिल्लाका चार जना रहेको जिल्ला प्रहरी कार्यालय धनुषाकी प्रहरी निरीक्षक निकिता मिश्राले बताइन्। उनीहरू रोजगारीको सिलसिलामा भारत पुगेको खुलासा भएको छ।

बाल अधिकार संरक्षण र मानव बेचबिखन नियन्त्रणमा यस्तो प्रयास महत्वपूर्ण भएको सरोकारवालाहरूले बताएका छन्।