मुस्ताङको चुमजुङमा लेदोबाढीको कहर : अस्थायी संरचनाहरू बगाए, कालीगण्डकी तटीय क्षेत्र उच्च जोखिममा
News Desk
Jul-09 , 2025 तारिख 01:14 बेलुका

मुस्ताङ | नेपाल–चीन सीमा नजिकको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको उच्च लेक क्षेत्रबाट आज साँझ ५ बजेदेखि लेदोसहितको भीषण बाढी आउन थालेको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार, चुमजुङ लेकबाट अचानक आएको यो अकल्पनीय लेदोबाढीले गाउँपालिकाभित्रका चारभन्दा बढी अस्थायी पुल र कल्भर्ट बगाइसकेको छ। “बाढी निकै तीव्र छ, लेदो र ढुंगासहितको प्रवाहले अस्थायी संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त बनाइसकेको छ,” अध्यक्ष गुरुङले भने।

तल्लो मुस्ताङमा सर्तकता

बाढीको संभावित जोखिम तल्लो मुस्ताङको कालीगण्डकी तटीय क्षेत्रका बस्तीहरूमा गम्भीर असर पार्न सक्ने देखिएकाले तत्काल सर्तकता अपनाउन आग्रह गरिएको छ।
“हामी अहिले प्रत्यक्ष रूपमा बाढीको अवलोकनमा छौं। मुस्ताङको तल्लो भेगमा रहेका बासिन्दालाई फोनमार्फत सावधानी अपनाउन भनिएको छ,” अध्यक्ष गुरुङले जानकारी दिए।

प्रशासन र सुरक्षा निकाय सक्रिय

अध्यक्ष गुरुङले प्रहरी प्रशासन तथा जिल्ला सुरक्षा संयन्त्रलाई तुरुन्तै जानकारी गराइसकिएको बताए।
बाढीको प्रवाह हेर्दा, यसले थप क्षति पुर्‍याउन सक्ने संकेत देखिएको छ।

सीमा नजिकको संवेदनशील क्षेत्र

चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती क्षेत्र नजिक पर्छ।
त्यहाँको उच्च हिमाली भेगबाट आएको यो बाढी भौगोलिक तथा पर्यावरणीय हिसाबले जोखिमपूर्ण मानिएको छ।
सामान्यतया शान्त रहने यस क्षेत्रबाट यस्तो अत्यधिक लेदो मिसिएको बाढी आउनु दुर्लभ मानिन्छ।

उपल्लो मुस्ताङमा देखिएको यो अचानकको प्राकृतिक विपद्ले भविष्यमा अझ ठूलो क्षति निम्त्याउन सक्ने सम्भावना रहेको भन्दै तत्काल सर्तकता, स्थानान्तरण र आवश्यक उद्धार तयारीमा जुट्न स्थानीय प्रशासनलाई दबाव बढेको छ।
सरकारको तर्फबाट तत्काल उद्धार टोली खटाउने तयारी भइरहेको बुझिएको छ।