News Desk
२५ असार, काठमाडौं । वाइसीएल नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसेर ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । असार १७ र १८ गते भौतिक रूपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरू आजको बैठकले अनुमोदन गरेको हो । अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने भएका छन् । बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सर्न इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै सबै एकतावद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।
प्रकृतिजन्य विपद् व्यवस्थापनलाई आफ्नो मुख्य कार्यक्रममा समेट्दै विपद् व्यवस्थापन एस.टी.एफ गठन गरिएको छ । विपद् व्यवस्थापन पूर्वतयारी स्वरूप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरिएको वाइसीएल अध्यक्ष पुष्प ओलीले बताए । उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रहरूमा ठोस योजना बनाइएको छ ।
विभागका क्षेत्राधिकार प्रयोग गरी आ-आफ्ना सापेक्षतामा कार्यक्रमहरू बनाउने । केन्द्रिय कार्यालयबाट अनुमोदन गरी योजनाहरू लागू गर्ने वाइसीएलका सचिव धिरज उपरकोटीले बताए ।
यस्ता छन आगामी कार्यक्रम
• वैदेशिक रोजगारमा हुने ठगीका विरुद्ध संघर्ष गर्ने
• सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध संघर्ष गर्ने
• निर्माण भईरहेका सरकारी कामहरूको भ्रष्टाचार, ठगी र ढिलासुस्ती विरुद्ध संघर्ष गर्ने
• भाद्रपछि आयोजना गर्नेगरी १६–२५ को उमेर समूहलाई लिएर ‘पोलिटिकल युथ कन्सर्ट’ को तयारी गर्ने
• कात्तिक १७ मा हुने उपचुनावको तयारी गर्ने
• सबै तह र तप्काका कमरेडहरूको कामको मूल्यांकन चार्ट बनाउने
• विभागहरूलाई चुस्त र छरितो एवं कामकाजी बनाउने ।