सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले एमालेभित्र नेतृत्व प्रतिस्पर्धा चर्किंदै
News Desk
Jul-10 , 2025 तारिख 06:32 बिहान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाली पार्टी राजनीतिमा पुनः सक्रिय बनेकी छन्। राष्ट्रपतिको जिम्मेवारीबाट २८ महिनापछि मुक्त भएपछि उनले १४ असार २०८२ मा औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमनको घोषणा गरेकी हुन्। त्यसयता उनी राजनीतिक भेटघाट र छलफलमा उल्लेखनीय रूपमा सक्रिय देखिएकी छन्।

पूर्वराष्ट्रपतिको रूपमा दुई कार्यकाल पूरा गरेकी भण्डारी पार्टी राजनीतिमा फर्किएसँगै विभिन्न तहका व्यक्तित्वसँग भेटघाटलाई तीव्र बनाएकी छन्। एमालेका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरू उनको निवासमा भेटका लागि पुग्ने क्रम बाक्लिँदो छ।

एमाले नेतृत्वको वर्तमान संरचना र अध्यक्ष केपी शर्मा ओलीको प्रभावशाली उपस्थितिका बीच भण्डारीको पुनरागमनलाई भावी नेतृत्वका संभावित प्रतिस्पर्धीको रूपमा हेरिँदैछ। खासगरी ओलीसँग असन्तुष्ट नेताहरू र कार्यकर्ताहरूले भण्डारीको सक्रियतालाई आशाको रूपमा लिएका छन्। यही सन्दर्भमा भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन शाह र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेट गरेकी थिइन्।

भेटघाटको पुष्टि गर्दै भण्डारीका स्वकीय सचिव राजकुमार राईले ‘के विषयमा छलफल भयो भन्ने मलाई थाहा छैन’ भने पनि, यी भेटघाटहरू राजनीतिक दृष्टिले गम्भीर रूपमा हेरिएका छन्।

एमालेभित्र नेतृत्वको सवालमा स्पष्ट ध्रुवीकरण देखिन थालेको छ। कतिपय नेताहरू भण्डारीलाई भावी अध्यक्षका रूपमा खुलेर समर्थन गर्न थालेका छन् भने ओलीपक्षीय नेताहरू भने एमाले विधान र प्रक्रिया अनुसार ओली नै अजेय नेतृत्व भएको दाबी गर्दै आएका छन्।

तर, अधिकांश नेता भने 'ह्वीम' कहाँ जान्छ भनेर प्रतीक्षामा छन्। पार्टीभित्र बहुमतको रेखा नपत्ता नपर्दासम्म धेरै नेता सार्वजनिक धारणा बनाउनेभन्दा पनि 'मध्यमार्गी' भएर बसेका छन्।

पार्टी सचिव पदमा रहेकी नेतृ तुलसा अर्याल भन्छिन्, "पार्टी विधानले महाधिवेशनमार्फत नेतृत्व चयन गर्छ, अहिले नेतृत्व प्रतिस्पर्धाको चर्चा गर्नु उचित होइन। महाधिवेशनका आकांक्षीहरू त्यही बेला खुल्नेछन्।"

उनका अनुसार पार्टीभित्र सहमतिबाट नेतृत्व चयन हुने सम्भावना बलियो छ र पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच व्यक्तिगत हार्दिकता अझै कायम रहेको उनले बताइन्।

ओली निकट मानिने नेता आनन्द पोखरेल पनि एमाले महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने पक्षमा छन्। उनका अनुसार "ओली र भण्डारी एउटै सिक्काका दुई पाटा हुन्, उनीहरूबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने सम्भावना छैन।"

पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सरकारी सुविधा नलिइ राजनीतिक भेटघाटमा सक्रिय रहेकी भण्डारीले विगत दुई वर्षयता विभिन्न सामाजिक र राजनीतिक तहका व्यक्तिहरूसँग निरन्तर संवाद गर्दै आएकी थिइन्। पार्टीका कार्यक्रममा सहभागी हुँदै देश दौडाहामा निस्कने र अन्ततः एमाले सदस्यता नवीकरण गरी उनले आफ्नो सक्रियता औपचारिक रूपमा स्पष्ट गरेकी हुन्।

ओलीले भण्डारीको पुनरागमन रोक्न पटक–पटक प्रयास गरे पनि ती असफल भए। उनले भण्डारीलाई सक्रिय राजनीति त्याग्न प्रोत्साहन दिन बालुवाटार बोलाएरसमेत भेट गरेका थिए। तर भण्डारीले अब उल्टै सहयोगको अपेक्षा व्यक्त गर्दै आफ्नो कदमबाट पछि नहट्ने स्पष्ट संकेत दिएकी थिइन्।

उनको यो सक्रियताले एमाले संस्थापन पक्षमा हलचल ल्याएको छ। नेतृत्वको नयाँ समीकरण निर्माणको संकेतस्वरूप पूर्वराष्ट्रपति भण्डारीको भूमिकालाई गम्भीरतापूर्वक विश्लेषण गर्न थालिएको छ।

 नेकपा एमालेमा नेतृत्वको बहस अबको महाधिवेशनमा निर्णायक मोडमा पुग्ने देखिन्छ। भण्डारीको पुनरागमनसँगै पार्टीभित्र विचार, विधि र नेतृत्वको सवालमा नयाँ तरंग पैदा भएको छ।

धेरै पढिएको