पत्रकार तथा अभियन्ता मधु कट्टेल (अमि) ‘सफल पशु कल्याण सम्मान २०८२’ बाट सम्मानित
News Desk
Jul-11 , 2025 तारिख 05:51 बेलुका

काठमाडौँ, असार २६ | पशुपन्छीको संरक्षण, अधिकार र कल्याणको क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार तथा अभियन्ता मधु कट्टेल (अमि) ‘सफल पशु कल्याण सम्मान २०८२’ बाट सम्मानित भएकी छन्।

‘राष्ट्रिय नागरिक विकास समाज’को आयोजनामा आयोजित एक विशेष समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कट्टेललाई सम्मानपत्र प्रदान गरेका हुन्।

पछिल्लो दशकदेखि पशुपन्छीप्रति समाजमा देखिने हिंसा, उपेक्षा र दुव्र्यवहारविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी कट्टेलले पशु अधिकारको सवाललाई सामाजिक र राजनीतिक विमर्शमा स्थापित गर्न उल्लेखनीय योगदान दिएकी छन्।

पत्रकारितामार्फत चेतनामूलक सामग्री, विश्लेषण तथा खबर सम्प्रेषण गर्दै जनस्तरमा करुणा, दया र पशुप्रति संवेदनशीलता फैलाउने उनको प्रयासलाई यस सम्मानमार्फत औपचारिक कदर गरिएको हो।

सम्मानपछि प्रतिक्रिया दिँदै कट्टेलले भनिन्, “यो सम्मान व्यक्तिगत भन्दा पनि सम्पूर्ण पशुपन्छी समुदायप्रतिको सम्मानको प्रतीक हो। यो यात्रालाई अझ गहिरो प्रतिबद्धताका साथ निरन्तरता दिने प्रेरणा मिलेको छ।”

पशुपन्छीप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न कट्टेलको प्रयासले भविष्यमा पनि समाजमा गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ।