News Desk
क्यानाडा, जुलाई ११ | नेतृत्व भनेको केवल भाषणले होइन, कठिन घडीमा साथ दिइने व्यवहार, समस्यामा समाधान ल्याउने क्षमता र जनविश्वास आर्जन गर्ने निष्ठाबाट प्रमाणित हुन्छ। यिनै गुणलाई जीवन्त बनाउँदै चन्द्रा अधिकारीले गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै एक ऐतिहासिक अध्याय सुरु गर्नुभएको छ। उहाँ यो पदका लागि उम्मेदवारी दिने एनआरएनए क्यानाडाको इतिहासमै पहिलो महिला बन्नुभएको छ।
पद्मकन्या क्याम्पसमा अध्ययनकै समयदेखि नेपाली विद्यार्थी र युवाहरूको समस्या बुझ्ने, समाधान खोज्ने र उनीहरूलाई संगठित गर्ने कार्यमा सक्रिय रहनुभएकी चन्द्रा अधिकारीले क्यानाडा आएपछि पनि आफ्नो सामाजिक योगदानलाई निरन्तरता दिँदै आउनुभएको छ। विशेषगरी क्यानाडामा नेपाली युवाहरूको रोजगारी, अवसर र सशक्तिकरणका लागि उहाँले अग्रपंक्तिमा रही काम गर्नुभएको छ। सयौं युवाहरू उहाँको सल्लाह, सहयोग र मार्गदर्शनबाट प्रत्यक्ष लाभान्वित भएका छन्।
"आफू मात्र होइन, अरूलाई पनि अघि बढाऔं" भन्ने दृढ सोचले उहाँलाई समुदायमा विशिष्ट बनाएको छ। शिक्षा, रोजगारी, आपतकालीन सहायता, कानुनी समस्यादेखि लिएर स्वास्थ्य र व्यक्तिगत संकटसम्मका अवस्थामा चन्द्रा अधिकारी सधैं अग्रसर हुँदै समुदायको सहयोगमा खटिनुहुन्छ। चाहे विपत्तिको घडी होस् वा दुःखद क्षण — उहाँ उपस्थित भएर निस्वार्थ भावनाले सहयोग पुर्याउने व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ।
संस्थागत दृष्टिकोणमा पारदर्शिता र गोपनीयताको सन्तुलनमा विश्वास राख्ने चन्द्रा अधिकारी सदस्यहरूको विश्वास र भावनालाई सम्मान गर्दै संस्था संचालन गर्ने कुशल नेतृत्वका प्रतीक हुनुहुन्छ। उहाँले नेतृत्वमा इमानदारी, पारदर्शिता, सहभागिता र उत्तरदायित्वलाई आधार मानेर अघि बढ्ने अठोट लिनुभएको छ।
उहाँको समर्पण र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च मूल्यांकन गरिएको छ। ब्रिटेनका राजा चार्ल्स तेस्रोबाट King Charles III Award र स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको Coronation Award जस्ता प्रतिष्ठित सम्मान प्राप्त गर्ने केही अग्रणी नेपाली महिलाहरूमा चन्द्रा अधिकारी पनि हुनुहुन्छ। यस्ता सम्मानहरूले उहाँको सेवाभाव र नेतृत्व क्षमतालाई थप प्रमाणित गरेका छन्।
यसअघि महासचिव पदमा निर्वाचित भई नेतृत्वमा सफलतापूर्वक भूमिका निर्वाह गरिसकेकी चन्द्रा अधिकारी अहिले अध्यक्ष पदको उम्मेदवारीमार्फत नेतृत्वको नयाँ अध्याय सुरु गर्न तयारीमा हुनुहुन्छ। उहाँले विजयी भएपछि नेपाल–क्यानाडा सम्बन्धलाई अझ प्रगाढ बनाउने, नेपालमा लगानी प्रवाह गर्न सहयोग गर्ने, र क्यानाडा निवासी नेपाली समुदायका आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम र पहलहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।