कमला नदीमा करिब दुई लाख माछाका भुरा छोडियो
News Desk
Jul-12 , 2025 तारिख 12:06 बेलुका

सिराहा जिल्लाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले करिब दुई लाख माछाका भुरा छोडिएको छ।

कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेलका अनुसार रहु र नैनी प्रजातिका माछाका भुरा वडा कार्यालयको सहजीकरण र लहानस्थित मत्स्य विकास केन्द्रको समन्वयमा नदीमा छाडिएको हो। भुरा छाड्ने कार्यक्रममा जनप्रतिनिधि, मत्स्य विकास केन्द्रका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।

“सिराहा, धनुषा र उदयपुरको सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र पवित्र धार्मिक महत्त्व बोकेको स्थान हो। यहाँका स्थानीयले परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। भुरा हुर्किएपछि स्थानीयको आम्दानी बढ्नेछ”, वडाध्यक्ष पोखरेलले भने।

उनका अनुसार नदीमा रैथाने प्रजातिका माछा पहिलेदेखि पाइँदै आए पनि अहिले छोडिएका उन्नत प्रजातिका भुरा प्राकृतिक रूपमा हुर्किन सक्ने भएकाले यो दीर्घकालीन रूपमा लाभदायक हुने विश्वास गरिएको छ। मत्स्य विकास केन्द्र लहानका प्रमुख प्रियंका यादवले सार्वजनिक जलाशयमा जैविक विविधता संरक्षण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले भुरा छाडिएको बताए।

उनले भने, “सरकारी दररेटअनुसार प्रतिगोटा ७५ पैसाका दरले रु. एक लाख ५० हजार बराबरको भुरा कमला नदीमा छाडिएको हो।” उनले आगामी आर्थिक वर्षमा पनि यस्तो कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।

भुरा छाड्ने अभियानले जैविक संरक्षणका साथै माछामार समुदायको आर्थिक अवस्था सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।