News Desk
मुस्ताङ, असार २९ | परम्परागत वास्तुकलाको संरक्षण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकाले घर निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ। गाउँपालिकाभित्र ढुङ्गा र माटोले निर्मित मौलिक घरहरूको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले यस्तो कदम चालिएको हो।
गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टका अनुसार, पछिल्लो समय स्थानीयहरूले मनपरी शैलीमा घर निर्माण गर्दा परम्परागत स्वरूप हराउँदै गएकोले संरचनागत एकरूपता कायम राख्न मापदण्ड अनिवार्य गरिएको हो।
नयाँ नियमअनुसार घरको भित्तो सेतो र छाना, झ्याल तथा ढोकाका बारमा कालो रङ अनिवार्य गरिनेछ। यदि कोही व्यक्तिले यो नियम नमान्ने हो भने कारबाहीको व्यवस्था गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।
“मुस्ताङको मौलिकता ढुङ्गा र माटोबाट बनेका घरहरू हुन्। आधुनिक निर्माण शैलीका कारण पहिचान नै संकटमा परेको छ। त्यसैले हामीले यस्तो नियम ल्याएका हौँ”, अध्यक्ष बिष्टले बताए।
गरीब तथा विपन्न वर्गलाई भने मापदण्ड पालना गर्न सहज होस् भनेर गाउँपालिकाले अनुदानको व्यवस्था पनि गरेको छ। “हामीले आवश्यकता अनुसार सहयोग पुर्याउने नीति लिएका छौँ, यसले संस्कृतिको संरक्षणसँगै स्थानीयलाई उत्साहित गर्ने विश्वास लिएको छौँ,” उनले थपे।
मुस्ताङको तल्लो भागदेखि उपल्लो भागसम्म फैलिएका ९६ वटै गाउँमा ढुङ्गा-माटोका परम्परागत घर पाइन्छन्। यी घरहरू प्रायः सदियौँदेखिको शैलीमा निर्माण भएका छन्, जसको छानामाथि दाउरा थुपार्ने चलन अझै कायम छ। यद्यपि पछिल्ला वर्षहरूमा सिमेन्ट र कङ्क्रिट प्रयोग गरेर घर निर्माणको प्रवृत्ति बढ्दै गएकोले परम्परा हराउने चिन्तामा गाउँपालिकाले यस्तो पहल थालेको हो।
गुम्बा जस्ता धार्मिक संरचनामा रातो र पहेँलो रङ प्रयोग गरिने भए पनि निजी घर तथा सामुदायिक संरचनामा सेतो र कालो रंग नै अनिवार्य हुने गाउँपालिकाले स्पष्ट पारेको छ।
यो निर्णयले सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।