भानु जयन्तीको अव​स​र​मा राष्ट्रपतिद्वारा शुभकामना सन्देश : भाषा-संस्कृतिप्रतिको प्रेमले एकता प्रगाढ होस भ​न्ने काम​ना
News Desk
Jul-13 , 2025 तारिख 12:55 बेलुका

काठमाडौं, असार २९ | आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रपति कार्यालयबाट सार्वजनिक सन्देशमार्फत राष्ट्रपतिको तर्फबाट भानुभक्त आचार्यको अतुलनीय योगदानको स्मरण गर्दै उहाँको स्मृतिमा भाषा, साहित्य र संस्कृतिप्रतिको प्रेम, विश्वास र एकताको भावना अझ प्रगाढ होस् भन्ने कामना व्यक्त गरिएको छ।

सन्देशमा राष्ट्रपतिले तनहुँ जिल्लाको चुँदी रम्घामा वि.सं. १८७१ सालको असार २९ गते जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यको प्रारम्भिक कालका प्रतिनिधि कवि, नेपाली कविताका आदिकवि तथा नेपाली भाषा र लिपीका प्रवर्द्धकका रूपमा स्मरण गर्नुपर्ने उल्लेख गर्नुभएको छ।

भानुभक्तद्वारा संस्कृत भाषाको वाल्मीकि रामायण नेपालीमा सरल, सुलभ र शिष्ट शैलीमा गरिएको अनुवादले नेपाली जनजीवनमा चेतना, भावनात्मक एकता र भाषिक विकासमा गहिरो प्रभाव पारेको राष्ट्रपति पौडेलको भनाइ छ।

उहाँले भानुभक्तीय रामायणले धर्म, कर्तव्य, सेवा र निष्ठाका मूल्यहरू स्थापित गर्दै नेपाली भाषाको माध्यमबाट विविध मातृभाषाहरूको संरक्षण र संवर्द्धनमा समेत सकारात्मक प्रभाव पारेको विश्वास व्यक्त गर्नुभएको छ।

सन्देशमा राष्ट्रपति पौडेलले सबै भाषाभाषी समुदायलाई आ–आफ्नो मातृभाषाको संरक्षण, प्रवर्द्धन र समुन्नयनमा जुट्न आह्वान गर्नुका साथै भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा ऐतिहासिक सांस्कृतिक स्थलको रूपमा विकास गर्न सके उहाँप्रति सच्चा श्रद्धा प्रकट हुने उल्लेख गर्नुभएको छ।

नेपाली भाषा विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एकतामा बाँध्ने सेतु भएको उल्लेख गर्दै राष्ट्रपतिले यस भाषाले खेलेको भूमिकालाई ऐतिहासिक सत्यका रूपमा मनन गर्न आग्रह गर्नुभएको छ।

सन्देशको अन्त्यमा राष्ट्रपतिले आदिकवि भानुभक्तप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावना अझ प्रगाढ बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।