News Desk
काठमाडौं, असार २९ | स्तन क्यान्सर, छाला क्यान्सर र अन्य जटिल प्रकारका क्यान्सर रोगको उपचारमा प्रयोग हुने ३७ प्रकारका अत्यन्तै महँगा औषधिहरू नेपालमा निःशुल्क वितरण गरिने भएको छ। अमेरिका स्थित अन्तर्राष्ट्रिय च्यारिटी संस्था Direct Relief को सहयोगमा र One Heart Worldwide को समन्वयमा प्राप्त औषधिहरू पहिलो चरणमा नेपाल आइपुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीम सापकोटाका अनुसार, “५ वर्षसम्म नेपालले आवश्यकता अनुसार यस्ता औषधि निःशुल्क पाउने गरी सम्झौता गरिएको छ। अहिले नेपालले करिब ७ करोड रुपैयाँ बराबरको औषधि प्राप्त गरिसकेको छ।”
उक्त औषधिहरू दुई महिना अगाडि नै ल्याउन सकिने अवस्था भए पनि प्रक्रिया तथा दर्ता सम्बन्धी काममा ढिलाइ भएकाले औषधि भर्खरै मात्र नेपाल आइपुगेका हुन्। यस्ता केही औषधि नेपालमा पहिलोपटक भित्रिएका कारण औषधि व्यवस्था विभागमा आवश्यक दर्ता प्रक्रिया पुरा गर्न समय लागेको बताइएको छ।
औषधिहरूको निःशुल्क वितरणका लागि मन्त्रालयले आवश्यक कार्यविधि बनाइसकेको छ। सुरुवाती चरणमा यी औषधिहरू चार वटा सरकारी अस्पतालमार्फत वितरण गरिनेछ:
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
भक्तपुर क्यान्सर अस्पताल
शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
वीर अस्पताल, काठमाडौं
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार, “महँगा औषधिको अभावमा क्यान्सरका बिरामीले विदेश जानुपर्थ्यो। अब निःशुल्क औषधिको उपलब्धताले खासगरी विपन्न वर्गलाई ठूलो राहत मिल्नेछ। यो राज्यको ठूलो उपलब्धि हो।”
थप औषधि ल्याउने तयारी
मन्त्री पौडेलले अन्य आवश्यक औषधिहरू समेत सहयोग स्वरूप ल्याउने प्रयास जारी रहेको जानकारी दिए। साथै, सरकारी क्यान्सर अस्पतालहरूमा तत्काल औषधि आपूर्ति सुरु भइसकेको र केही समयपछि अन्य सरकारी अस्पतालहरूबाट पनि वितरण गरिने योजना रहेको उनले बताए।
One Heart Worldwide का नेपाल प्रतिनिधि सूर्य भट्टले भने, “स्वास्थ्य मन्त्री पौडेलको पहलले मात्र यो सम्भव भएको हो। यसलाई नेपालका लागि ठूलो उपलब्धिका रूपमा लिनुपर्छ।”
आएका औषधिहरू स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमरजस्ता गम्भीर रोगहरूमा प्रयोग हुने इम्युनोथेरापी औषधिहरू समेत समावेश छन्, जुन निजी क्षेत्र वा विदेशमा उपचार गर्न अत्यन्तै खर्चिलो हुने गर्दछ।
नेपाल सरकारले गरेको यो पहलले विशेष गरी आर्थिक रूपले कमजोर वर्गलाई अत्यन्तै राहत पुर्याउनेछ। महँगा औषधिहरू निःशुल्क उपलब्ध गराउँदा उपचारको पहुँच बढ्ने मात्र होइन, देशमै गम्भीर क्यान्सर रोगहरूको प्रभावकारी उपचार सम्भव हुनेछ।