News Desk
वीरगञ्ज – लामो खडेरीका कारण चापाकल सुकेर खानेपानीको सङ्कट गहिरिँदै गएको वीरगञ्जमा सङ्घीय सरकारका दुई मन्त्रीले संयुक्त रूपमा प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले सोमबार वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा पुगेर स्थानीयको समस्या बुझ्दै समाधानका लागि छलफल गरेका छन् ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री यादव र पर्सा क्षेत्र नम्बर २ का सांसद तथा कानुन मन्त्री चौरसियाले वडा नम्बर ६, ९ र १० का टोलहरूमा स्थलगत निरीक्षण गरे । उनीहरूसँगै प्रदेशसभा सदस्य श्याम पटेल पनि सहभागी थिए ।
अनुगमनका क्रममा मन्त्रीद्वयले स्थानीय जनप्रतिनिधि र बासिन्दासँग भेटघाट गरी खानेपानी सङ्कटले जनजीवनमा पारेको असरबारे जानकारी लिए ।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण मधेस प्रदेशका पर्सा, बारा, रौतहटलगायत जिल्लामा चापाकल सुकेर खानेपानीको हाहाकार भएको बताए । “यो प्राकृतिक विपत्तिको घडीमा हामी पीडित जनताको साथमा छौँ,” उनले भने, “खानेपानी मन्त्रालयले वीरगञ्ज महानगरपालिकासँग समन्वय गरी तत्काल राहतका लागि काम गरिरहेको छ ।” उनले स्थानीयको पीडा सुनेर समाधानका उपाय पहिल्याउन आफूहरू घरघरमै पुगेको बताए ।
कानुन मन्त्री चौरसियाले पनि आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाको दुखसुख बुझ्न र समाधानका लागि पहल गर्न अनुगमनमा सहभागी भएको बताए । “पानीको सङ्कटले वीरगञ्जवासी आक्रान्त छन् । खानेपानी मन्त्रालयसँग मिलेर हामी यो समस्याको समाधान खोज्न प्रतिबद्ध छौँ,” उनले भने । उनले कठिन परिस्थितिमा धैर्य र संयम राख्दै सबैको सहकार्यबाट समाधान सम्भव भएको उल्लेख गरे ।
लामो समयदेखि वर्षा नहुँदा चापाकल सुकेपछि वीरगञ्जमा खानेपानीको चरम अभाव भएको छ । तत्काल राहतका लागि खानेपानी मन्त्रालय र वीरगञ्ज महानगरपालिकाले प्रभावित वडाहरूमा डीप बोरिङ जडान र ट्याङ्कर मार्फत पानी वितरणको कार्य तीव्र पारेका छन् ।
मन्त्रीद्वयको सक्रियताले स्थानीयमा आशा जगाएको छ । तर, दीर्घकालीन समाधानका लागि थप पहल र समन्वय आवश्यक रहेको स्थानीयले बताएका छन् ।
अनुगमनमा प्रदेशसभा सदस्य श्याम पटेल, नेपाली काँग्रेसका नेता मोहम्मद शाहाबुद्दीन, भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद लगायतको उपस्थिति रहेको थियो ।
DIPU BARNWAL