News Desk
काठमाडौं, असार ३० | काठमाडौं उपत्यकामा विभिन्न स्थान र मितिमा हराएका २० वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित सवारीधनीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार औपचारिक रुपमा हस्तान्तरण गरेको छ।
एक विशेष समारोहका बीच ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १३ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर धनीलाई जिम्मा दिएका हुन्।
प्राप्त जानकारीअनुसार, उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँ बसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायत स्थानहरूबाट ती सवारीसाधनहरू फेला पारिएका थिए। तीमध्ये केही सवारीमा वास्तविक नम्बर प्लेट रहेको र केहीमा नक्कली नम्बर प्लेट जडान गरिएको पाइएको थियो।
यसरी आज हस्तान्तरण गरिएका २० ओटा सवारीसहित साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले ३८६ वटा हराएका सवारीधनीहरूलाई फिर्ता गरिसकेको छ। यस्तै, चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी इकाइमा बुझाइएको जानकारी दिइएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा ४९९ र ०८०/८१ मा ४१७ वटा दुई पाङ्ग्रे सवारी ट्राफिक प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले सवारीसाधन चोरी तथा हराउन नदिन सावधानी अपनाउन आग्रह गरेका छन्। उनले सवारी सुरक्षित स्थानमा पार्क गर्न, ह्वील लक, ह्यान्डल लक, डिस्क लक, चेन लक वा सुरक्षा साइरन जडान गर्न सल्लाह दिए। साथै, सुनसान वा निगरानी नभएको स्थानमा सवारी नछोड्न पनि उनले सुझाव दिए।
यदि सवारीसाधन हराएको खण्डमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जानकारी समेत दिइएको छ।