News Desk
वीरगंज | “छोरी बोझ होइन, सम्मान हो।” यिनै भावनाले भरिएको एक सशक्त गीती नाटकले वीरगंजस्थित साउथ जोन स्कूलमा आयोजित विशेष कार्यक्रममा उपस्थित अभिभावक, अतिथि र विद्यार्थीलाई भावुक बनाएको छ।
मंगलबार विद्यालय परिसरमा सम्पन्न विद्यार्थी कल्याण परिषद् पदाधिकारीहरूको शपथ ग्रहण तथा पुरस्कार वितरण समारोहको अवसरमा मञ्चन गरिएको उक्त नाटकमा मधेसमा गहिरो रूपमा जरो गाडेको दाइजो प्रथाविरुद्ध सशक्त आवाज उठाइएको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेको अभिनय यति यथार्थपरक र प्रभावशाली थियो कि त्यो कुनै काल्पनिक दृश्य नभई समाजमा वास्तविक रूपमा घटिरहेका घटनाहरूको प्रतिबिम्बजस्तो देखिन्थ्यो। पण्डित, बाबुआमा, सम्धी-सम्धिनाको भेषमा प्रस्तुत विद्यार्थीहरूद्वारा गीत, संवाद र दृश्यात्मक प्रस्तुतिमार्फत दाइजो प्रथाले महिलाहरूको जीवनमा पार्ने गम्भीर असरलाई उजागर गरिएको थियो।
एक छोरीको विवाहको नाममा उसका बाबुले भोग्नुपरेको आर्थिक संकट, सामाजिक दबाब, र सम्बन्ध विच्छेदसम्मको अवस्थालाई कलात्मक तरिकाले चित्रण गरिएको नाटकले अभिभावकहरूको आँखाबाट आँसु झार्न बाध्य बनायो। नाटकपछि अभिभावकहरूले प्रतिक्रिया दिंदै भने, “यो नाटक हाम्रो समाजको ऐनाजस्तै हो — जसले हामीलाई हाम्रो वास्तविकता देखायो।”
कार्यक्रममा शैक्षिक, खेलकुद, अनुशासन, नियमित उपस्थिति, सांस्कृतिक योगदान तथा नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। साथै, विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूलाई पनि सम्मानित गरिएको थियो।
यस विशेष समारोहको उद्घाटन वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले गरेका थिए। उनले नव–निर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूलाई शपथ गराएका थिए। नव–निर्वाचित क्याप्टेन र हाउस लिडरहरूले विद्यालय र विद्यार्थी हितमा जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिवद्धता जनाएका थिए।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षता थियो। प्रमुख अतिथि तथा शुभकामनादाताका रूपमा राष्ट्रिय खेलकुद परिषद् मधेश प्रदेशका सचिव शिवजी गुप्ता, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश कुमार उपाध्याय, केन्द्रीय सदस्य छेडुप लामा, डा. हरिशंकर साह, प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन मधेस प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल इनोभेट सोसाइटी अध्यक्ष कमल चौगाई लगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अशोक सङग्रौलाले गरेका थिए। साथै, विद्यार्थीहरूले मार्च पास तथा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरूमार्फत दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
विद्यालय प्रशासनले सामाजिक तथा नैतिक शिक्षामा केन्द्रित यस्ता प्रस्तुति विद्यार्थीको चेतना, संवेदनशीलता र सामाजिक उत्तरदायित्व विकासमा अत्यन्त प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
