News Desk
रामेछापको मन्थली नगरपालिका-८ चिसापानीस्थित बफर खोलामा आएको बाढीले मन्थली-गेलु सडक पुनः बगाएको छ। गत शनिबार आएको बाढीले पहिल्यै अवरुद्ध बनाएको उक्त सडक मंगलबार साँझ फेरि बाढीले बगाएको हो।
स्थानीयका अनुसार खोलामा राखिएको ह्युमपाइप बगाएपछि सोसँगै सडकको संरचनासमेत क्षति पुगेको छ। सडक अवरुद्ध भएपछि मन्थली सदरमुकामबाट वडा नं ८, ११ (नाटिला) र १२ (गेलु) जोड्ने सञ्जाल पूर्णरूपमा विच्छेद भएको छ।
उक्त सडक यसअघि पनि गत असोजमा आएको बाढीले बगाएको थियो। त्यसपछि नागबेली कन्स्ट्रक्सनले पूर्वाधार विकास कार्यालय रामेछापको पहलमा पुनर्निर्माण कार्य थालेको थियो। मन्थलीको मझुवा क्षेत्र हुँदै २४५ मिटर सडकमा ढलान गर्दै १ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको थियो। तर स्थानीयले निर्माण गर्दा कुनै समन्वय नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
निर्माण कम्पनी नागबेली कन्स्ट्रक्सनले भने बाढीले बगाएको ह्युमपाइप तथा सडक आफूहरूले निर्माण नगरेको स्पष्ट पारेको छ।