प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरा ‘पुलिस अफ दि मन्थ’ घोषित
News Desk
Jul-16 , 2025 तारिख 12:01 बेलुका

वीरगञ्ज | प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरा ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको लागि उनलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा यो सम्मान प्रदान गरेको हो।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबराले गम्भीर प्रकृतिका अपराधहरूको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गर्दै प्रहरी संगठनको छवि उज्ज्वल बनाउन उल्लेखनीय योगदान दिएका छन्।

धनुषा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, गत चैत १७ गते धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ बनिनियाँमा श्रीमती अञ्जली यादवको कुटपिटपश्चात हत्या गरी शव गाडेको अभियोगमा पक्राउ परेका हरिराम यादवलाई नियन्त्रणमा लिन जबराले प्रमुख भूमिका खेलेका थिए।

त्यसैगरी, असार १८ गते जनकपुर उपमहानगरपालिका–१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठलाई खजुरी रेल्वे स्टेसनबाट पक्राउ गर्न पनि जबराको महत्वपूर्ण योगदान रहेको थियो।

त्यसका साथै, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा विद्युतीय अपराधसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्त हनिफ नदाफलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउने कार्यमा पनि जबराको भूमिका उल्लेखनीय रह्यो।

एसपी रेग्मीले भने, “सागर शमशेरको व्यावसायिक दक्षता र कर्तव्यनिष्ठाले प्रहरी संगठनको छवि अझ उज्यालो बनाएको छ। उहाँको कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ।”

जिल्ला प्रहरी कार्यालय धनुषाले जबराको योगदानलाई उच्च मूल्यांकन गर्दै असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषणा गरेको हो। यो सम्मानले संगठनभित्र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

DIPU BARNWAL 

धेरै पढिएको